पारालिम्पिक खेलाडीका लागि आफ्नै खेल मैदानको माग
News Desk
Jan-12 , 2025 तारिख 12:06 बेलुका

राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालले पारालिम्पिक खेलाडीका लागि आफ्नै खेल मैदानको माग गरेको छ। 

शारीरिक र अशक्त नागरिकहरूको हितमा विविध राष्ट्रिय तथा अन्ताराष्ट्रिय पाराखेलकुद गर्दै आएको कमिटीले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी यस्तो माग गरेको हो। 

शनिबार बिहान देउवा निवास बूढानीलकण्ठ पुगी कमिटीका पदाधिकारीले आफ्नै खेल मैदानको माग सहित अन्य विषयसहितको ज्ञापनपत्र बुझाएको हो।

पाँचबुँदे ज्ञापनपत्र बुझाउन राष्ट्रिय पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घलेको नेतृत्वमा पदाधिकारीको टोली देउवा निवास पुगेको थियो।

टोलीले एउटा पारा रंगशाला सहित उचित खेल मैदानको माग गर्दै देउवालाई पारा खेलकुदमार्फत नेपालीले अन्ताराष्ट्रिय मञ्चमा नेपालीलाई चिनाउने काम गरेको जानकारी गराएको थियो।

कमिटीका संयोजक ओमनाथ शिवाकोटीले राष्ट्रिय पारालिम्पिक कमिटी अन्तर्गत २२ वटा विविध पारा खेलकुद रहेको भन्दै नेपालको कुल जनसंख्याको १० प्रतिशत शारीरिक अशक्त नागरिकका लागि काम गर्दै आएको बताए। राष्ट्रिय पारालिम्पिक कमिटीसँग १० हजार पारा खेलाडी रहेका छन।

अहिलेसम्म ५० जनाभन्दा बढी खेलाडीले अन्ताराष्ट्रिय क्षेत्रमा सहभागिता जनाइसकेका छन। सन २०२४ मा नेपालले पेरिस पारालिम्पिकमा काँस्य पदक प्राप्त गरेको थियो। तेक्वान्दोमार्फत पलेशा गोवर्धनले काँस्य पदक जितेकी थीन। 

राष्ट्रका लागि खेल्ने शारीरिक अशक्त खेलाडीका लागि विभिन्न समस्या रहेको जानकारी दिँदै टोलीले बुँदागत रूपमा रूपमा सभापति देउवालाई हामीसँग न रंगशाला छ न खेल सामग्री न त अन्य सुविधा भन्दै गुनासो गरेका थिए।

पारालिम्पिक कमिटीका पदाधिकारीलाई जवाफ दिँदै कांग्रेस सभापति देउवाले सबै समस्याको समाधान हुने भन्दै आवश्यक कदम चालिने बताएका थिए। 
टोलीले हेटौडामा छिट्टै एउटा रंगशाला बनाइदिन विशेष माग गरेको थियो।​

भेटमा पारा सुटिङका महासचिव मुक्तिनाथ अधिकारीले ज्ञापनपत्र हस्तान्तरण गर्दै संयुक्त राष्ट्रसंघको जेनेभा सन्धिको धारा २५ ले अशक्त नागरिकको अधिकारलाई सम्बोधन गरेको स्मरण गराएका थिए। 

​​​​​​

धेरै पढिएको