अष्ट्रेलियका म्याट रोज नेपाली टिमका नयाँ प्रशिक्षक
News Desk
Jan-25 , 2025 तारिख 06:31 बिहान

नेपाली राष्ट्रिय फुटबल टिमले नयाँ प्रशिक्षक पाएको छ । अष्ट्रेलियका म्याट रोज नेपाली टिमका नयाँ प्रशिक्षक हुने अखिल नेपाल फुटबल संघ एन्फाका एक पदाधिकारीले जानकारी दिए ।

गत माघ ६ गते नेपाल आएका उनलाई एन्फाले एक वर्षको लागि प्रशिक्षकमा नियुक्त गरेको हो । उनलाई एन्फाको प्रशिक्षक नियुक्ति समितिले अन्तर्वातामार्फत नियुक्त गरेको थियो। नेपाली टिमको प्रशिक्षक हुनको लागि चार सय भन्दा धेरै प्रशिक्षकले आवेदन दिएका थिए। त्यसमध्येबाट म्याट रोज नियुक्त भएका हुन ।

म्याटले यसअघि युएईको युनाइटेड फुटबल क्लबको प्रशिक्षण सम्हालेका थिए । त्यसअघि उनले चीनमा अन्डर फिफ्टिन महिला र दक्षिण कोरियाको महिला टिमको सहायक प्रशिक्षक बनेका थिए । उनले जर्मन क्लब फ्रांकफर्टको महिला टोलीमा रहेर काम गरेका छन। उनी पहिलो पटक कुनै पनि देशको पुरुष राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बनेका हुन। उनीसँग युएइफा प्रो लाइसेन्स छ । राष्ट्रिय टिमको प्रशिक्षक बन्नको लागि प्रो लाइसेन्स आवश्यक पर्छ ।

नेपाली टिम एएफसी छनोट खेल्ने तयारीमा छ । नेपालको समूह एफमा भियतनाम, लाओस र मलेसियासँग खेल्नेछ। मलेसियामा आउँदो मार्चमा होम गेम खेलेर नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ। यही छनोट खेलको लागि उनलाई एन्फाले नियुक्त गरेको हो। इटालीको भिन्चेन्सो अल्बर्तो एनिसको सम्झौता थप नगर्ने निर्णय भएपछि एन्फाले गत भदौमा प्रशिक्षकको आवेदन खोलेको थियो।