News Desk
ए डिभिजन टोली सङ्कटा क्लबले नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई हराउँदै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सङ्कटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो।
नियमित ९० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी गरेका थिए। त्यसपछि पेनाल्टी सुटआउटमा पनि ३–३ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो।
सडन डेथमा सङ्कटाका खेलाडी राम थापा र रोशन पहारीले गरेको प्रहार बागमतीका गोलरक्षक विकेश कुथुले रोके। सङ्कटाका लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गर्न सफल भए।
बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्र गोल गर्न सके भने कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार सङ्कटाका गोलरक्षक दीप कार्कीले रोके। बागमतीका रजत तिवारीले गरेको प्रहार माथिल्लो बारबाट बाहिरियो।
प्रतियोगिताको विजेता टोली सङ्कटाले २६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बागमतीले १३ लाख रुपैयाँ पाएको छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सङ्कटाका कप्तान दीप कार्की घोषित भएका छन्। उनले उपाधिसहित ७५ हजार रुपैयाँ पुरस्कार पाए।
यसैगरी, प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि बागमतीका सन्दीप कार्कीले हात पारे। उनले २५ हजार रुपैयाँ पुरस्कार पाए। उत्कृष्ट गोलरक्षक बागमतीका विकेश कुथु घोषित भए।
विजेताहरुलाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबाहदुर देउवा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले पुरस्कार वितरण गरे।
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको उक्त प्रतियोगितामा ८ टोलीले सहभागिता जनाएका थिए।