News Desk
चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा चीनको युनान टिमले नेपाललाई हराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार सम्पन्न मैत्रीपूर्ण फुटबलमा चीनको टिमले नेपालको युवा टिमलाई २–० ले हराएको हो।
नेपालस्थित चिनियाँ दूतावासको सहयोग र अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा चीनको युनान टिमले सुरुदेखि नै नेपालमाथि दबदबा कायम राख्यो।
खेलको २० औं मिनेटमा यु मनकुईले डिबक्स बाहिरबाट हानेको लामो प्रहार गोलमा परिणत भयो। खेलको ७८ औं मिनेटमा वाङ पिनहानले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारे। त्यसपछि थप कुनै गोल हुन सकेन र खेल चिनियाँ टोलीले जित्यो।
गत वर्ष भएको खेलमा हारेको युनानको टोलीले यसपटक बदला लिएको छ। राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, नेपाल उसु महासंघ र सशस्त्र प्रहरी बल एपिएफसँग सहकार्य गरेर चिनियाँ दूतावासले यो खेल सञ्चालन गरेको हो। एन्फालाई टिम तयारीका लागि दूतावासले २३ लाख उपलब्ध गराएको थियो।