नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२० नकआउट क्रिकेट र राज होजियारी जुनियर फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
News Desk
Feb-17 , 2025 तारिख 01:52 बिहान

वीरगञ्ज । वीरगञ्जमा भोलीदेखि शुरू हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२० नकआउट क्रिकेट र राज होजियारी जुनियर फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आइतवार प्याब्सन पर्साले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताका लागि सबै तयारी पूर्ण भएको जानकारी दिएको हो ।

प्याब्सन पर्सा अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा २७ विद्यालयको सहभागिता रहेको जानकारी दिइएको छ । नारायणी क्रिकेट मैदानमा फागुन ५ गतेदेखि हुने क्रिकेटका खेलहरू फागुन १४ गतेसम्म सञ्चालन हुने प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए । उनकाअनुसार भोलीदेखि नै विपद् व्यवस्थापन गुल्म वीरगञ्जको खेल मैदानमा सुरु हुने फुटबलका खेलहरू फागुन १० गते समापन हुनेछन् । 

प्याब्सन पर्साको वार्षिक क्यालेण्डरमा भएअनुसार नवौ संस्करणदेखि प्रतियोगितामा कप, मेडल र प्रमाणपत्रका साथै नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । क्रिकेटतर्फ प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने फुटबलतर्फ ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
साथै, उत्कृष्ट खेलाडी, बेस्ट बलर, बेस्ट फिल्डर, बेस्ट डिफेन्डर लगायतका विधामा पनि नगदसहित पुरस्कार वितरण गरिने सचिव संग्रौलाले जानकारी दिए । क्रिकेट र फुटबल दुवैतर्फ प्रतियोगितामा सहभागि ८ सय खेलाडीको २५ हजार रुपैयाँसम्मको सुरक्षा बीमा गरिएको प्याब्सन पर्साका अध्यक्ष चौधरीले बताए ।

यस वर्ष प्रतियोगितामा वीरगञ्ज महानगर भन्दा बाहिर ठोरी गाउँपालिका र धोबिनी गाउँपालिकाका विद्यालयहरूले पहिलो पटक सहभागिता जनाएका छन् ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नु, खेल भावना र सहकार्यको विकास गर्नु, र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अभिप्रायले प्रतियोगिता आयोजना गरिएको प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामाले बताए । खेलकुदले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

DIPU BARNWAL 

धेरै पढिएको