News Desk
काठमाडौं – नेपाल र म्यानमार एक खेल अगावै फोर नेशन्स उमन्स इन्टरनेशनल फुटबल च्याम्पियनसिपको उपाधि भिडन्तमा प्रवेश गरेका छन्।
लगातार दुई खेल जित्दै नेपाल र म्यानमारले फाइनलमा स्थान पक्का गरेका हुन्। बिहीवार दशरथ रंगशालामा नेपालले लेबनानलाई १-० ले पराजित गरेपछि फाइनल यात्रा तय गरेको हो। यसअघि, पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० को फराकिलो अन्तरले हराउँदै आफ्नो स्थान सुरक्षित गरिसकेको थियो।
नेपालका लागि जितको एक मात्र गोल सावित्रा भण्डारी ‘साम्बा’ले पहिलो हाफमा गरेकी थिइन्। खेलभर नेपालले आक्रमक शैली अपनाउँदै लेबनानमाथि दबाब कायम राख्यो। नेपालले आधा दर्जन भन्दा बढी गोलका अवसर सिर्जना गरे पनि एक मात्र गोल निकाल्न सफल भयो।
खेलको मुख्य क्षणहरू
खेलको नवौं मिनेटमा लेबनानले अग्रता लिने अवसर गुमायो। क्रिस्टि मलाउफको बक्स भित्रको प्रहारलाई नेपाली गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गरेकी थिइन्।
नेपालले पनि दशौं मिनेटमै गोल गर्ने अवसर गुमायो। विमला चौधरीको प्रहार पोष्टमाथि गएको थियो।
१३ औं मिनेटमा लेबनानकी लायला इस्कन्दरको प्रहारले गोल पोस्ट भेट्न सकेन। १५ औं मिनेटमा नेपालकी प्रीति राईले हानेको लामो प्रहार क्रसबार नजिकबाट बाहिरियो।
३१ औं मिनेटमा लेबनानको खतरनाक अवसरलाई नेपाली गोलकिपर एञ्जिलाले खुट्टाले बचाउँदै क्लियर गरिन्।
निर्णायक गोल
खेलको ४२ औं मिनेटमा नेपालले निर्णायक गोल गर्न सफल भयो। विमला चौधरीको कर्नरमा लेबनानकी लायला इस्कन्दरले क्लियर गर्न खोजेको बललाई सावित्रा भण्डारी ‘साम्बा’ले बक्स बाहिरबाट पावरफुल प्रहार गर्दै गोलमा परिणत गरिन्। बल लेबनानकी गोलकिपर फराह इल टयारलाई लाग्दै जाली चुमेको थियो।
दोस्रो हाफमा गोल रहित संघर्ष
५९ औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने मौका पाएको थियो। सावित्राको सटिक क्रसमा अनमार्क पोजिसनमा रहेकी सविता राना मगरको प्रहार पोष्टमाथि उडेको थियो।
लेबनानले दोस्रो हाफमा तीन खेलाडी परिवर्तन गर्दै अग्रपंक्तिमा सुधार गर्न खोज्यो, तर प्रभावशाली आक्रमण गर्न सकेन। इन्जुरी समयमा जवहा अरबीले हानेको बल क्रसबारमा लागेर फर्किएपछि नेपाल गोल खानबाट जोगियो।
नेपालको सावित्रा भण्डारीको गोल नै खेलको निर्णायक गोल बन्यो। १-० को जितसँगै नेपालले लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो।
आगामी खेल
आइतवार लिगको अन्तिम खेल अन्तर्गत दिउँसो २ बजे लेबनान र कीर्गिस्तान तथा साँझ ६ बजे नेपाल र म्यानमार भिड्नेछन्।