नेपाल र म्यानमारबीचको खेल बराबरी, फाइनलमा पुनः भिडन्त
News Desk
Feb-24 , 2025 तारिख 01:55 बिहान

काठमाडौं: त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको खेल नेपाल र म्यानमारले २-२ को बराबरीमा टुंग्याएका छन्।

खेलको छैटौं मिनेटमै म्यानमारकी म्याट नोई खिनले फ्रि किकमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। उनको प्रहारलाई रोक्न नेपाली गोलकिपर अन्जना रानामगरलाई मौका नै मिलेन। तर, नेपालले छिट्टै जवाफ फर्कायो। ११औं मिनेटमा सावित्रा भण्डारीको क्रसलाई सविता रानामगरले वान टचमा पोस्टको दिशा दिँदै खेललाई बराबरीमा ल्याइन्।

१६औं मिनेटमा मे एचटेट लुले म्यानमारलाई पुनः अग्रता दिलाइन्। नेपाली डिफेन्डर गीता रानाले क्लियर गर्न खोजेको बललाई लुले नियन्त्रणमा लिएर गोल गर्दै स्कोर २-१ बनाइन्।

नेपालका लागि सावित्रा भण्डारीले ४०औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याइन्। प्रिती राईको पासमा वान वान अवसर पाएको उनले सहजै गोल गर्दै नेपाललाई २-२ को अवस्थामा पुर्याइन्।

दोस्रो हाफमा दुवै टोलीले केही गोलका अवसर सिर्जना गरे पनि सफल हुन सकेनन्। ७३औं मिनेटमा रश्मी घिसिङको हेडरलाई म्यानमारकी गोलकिपर म्योले सजिलै रोकिन्। खेलको इन्जुरी टाइममा म्यानमारले आक्रमण गर्ने प्रयास गरे पनि अफसाइड भएका कारण गोल सम्भव भएन।

यस बराबरीपछि नेपाल र म्यानमार दुवैले फाइनलमा स्थान बनाएका छन्। अब उपाधिका लागि दुवै टोली बुधबार प्रतिस्पर्धा गर्नेछन्।

धेरै पढिएको