थाइल्यान्डमा कराते कप अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले जित्यो चार स्वर्णसहित नौ पदक
News Desk
Mar-01 , 2025 तारिख 07:01 बेलुका

अन्तर्राष्ट्रिय मार्सल आर्ट्स संघ (आइएमए) अन्तर्गत नेपाली खेलाडीहरूले थाइल्यान्डमा सम्पन्न कराते कप अन्तर्राष्ट्रिय प्रतियोगितामा चार स्वर्ण, चार रजत, र एक कांस्य पदक जित्दै नेपाललाई गौरवान्वित बनाएका छन्।

थाइल्याण्डको बैङ्ककस्थित आरबिएसी स्पोर्ट्स कम्प्लेक्समा आइतबार सम्पन्न प्रतियोगितामा धादिङका गौतम ठकुरीले भेट्रान ७७ केजी (३९ वर्षमाथि) मा स्वर्ण पदक जिते। श्रवण लामाले कुमुते एकल काता ६५ केजीमाथि (२४ वर्ष) र माइकल तामाङले ४५ केजीमाथि (१६ वर्ष) उमेर समूहमा स्वर्ण पदक जिते। त्यस्तै, श्रवण लामाले एकल काता र कुमुतेमा स्वर्ण जित्दै दोहोरो सफलता हासिल गरे।

रजत पदक जित्ने खेलाडीहरूमा लक्ष्मण श्रेष्ठ (७५ केजी, २२ वर्ष), एरोन लामा (५० केजीमाथि, २१ वर्ष), र नेपाली टिम (टिम काता) रहेका छन्। यस्तै, अभिषेक कार्कीले ५० केजीमाथि (१७ वर्ष) उमेर समूहमा कांस्य पदक जिते।

यो प्रतियोगितामा नेपाल टिम च्याम्पियनसिपमा तेस्रो स्थानमा रह्यो, जहाँ पहिलो स्थान उज्वेकिस्तान र दोस्रो स्थान श्रीलंकाले हासिल गरे। नेपाली टिमका प्रशिक्षक गौतम ठकुरी थिए भने व्यवस्थापक भीमप्रसाद नेपाल र रेफ्री पूर्णबहादुर थापा थिए।

थाइल्यान्डबाट स्वदेश फर्किएका नेपाली खेलाडीहरूलाई आज १७ गते शनिवार बिहान त्रिपुरेश्वरस्थित अन्तर्राष्ट्रिय मार्सल आर्ट्स संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी सम्मान गरियो। संघका केन्द्रीय अध्यक्ष तथा प्रशिक्षक प्रकाश श्रेष्ठ र केन्द्रीय सचिव धिरज उपरकोटीले विजेता खेलाडीहरू, टिम म्यानेजर, कोच, र रेफ्रीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन शुभकामना व्यक्त गरे।

धेरै पढिएको