News Desk
न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ।
भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ।
दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो।
न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ रनमा आउट भए। त्यसपछि तेस्रो क्रमका केन विलियम्सन क्रिजमा जमे।
तर उनलाई अन्य ब्याटरले साथ दिएनन्। ड्यारिल मिचेल १७ रनमा, टम लाथम १४ रनमा, ग्लेन फिलिप्स १२ रनमा र माइकल ब्रेसवेल २ रनमा आउट भए। यतिखेर न्युजिल्यान्डले ६ विकेटको नोक्सानीमा १ सय ५९ रन बनाएको थियो।
विलियम्सनले ७७ बलमा अर्धशतक प्रहार गरे। ८१ रन जोडेर उनी अक्षर पटेलको बलमा सातौं विकेटको रुपमा पभेलियन फर्किएपछि न्युजिल्यान्ड दबाबमा परेको थियो। यसपछि मिचेल स्यान्टनरले २८ रन बनाए।
बलिङमा वरूण चक्रवर्तीले १० ओभरमा ४२ रन खर्चेर ५ विकेट लिए। कुलदिप यादवले २ विकेट झारे।
त्यसअघि टस जितेर न्युजिल्यान्डले बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो।
खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन गील २ रनमा, रोहित शर्मा १५ रनमा र करियरको ३०० औं ओडिआई खेलेका विराट कोहली ११ रनमा आउट भए।
त्यसपछि श्रेयस अयर र अक्षर पटेलले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे। अक्षर ४२ रनमा आउट भए। श्रेयसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७९ रन बनाए। यस्तै हार्दिक पाण्ड्याले ४५ र केएल राहुलले २३ रन जोडे।
बलिङमा म्यान हेनरीले सानदार बलिङ गरे। ८ ओभरमा ४२ रन खर्चेर ५ विकेट लिए। तर यो उत्कृष्ट बलिङमा पनि टिमलाई जित दिलाउन भने सकेनन्।
यो जितपछि भारतको ६ अंक भयो। न्युजिल्यान्डले ४ अंक जोड्यो। अन्तिम खेल अगाडि नै दुवै टिम सेमिफाइनलमा पुगिसकेका थिए।
यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तान र बङ्गलादेशलाई समान ६ विकेटले हराएको थियो।न्युजिल्यान्डले पाकिस्तानलाई ६० रनले र बङ्गलादेशलाई ५ विकेटले हराएको थियो। यो समूहबाट बङ्गलादेश र पाकिस्तान बाहिरिएका थिए ।
अर्को समूहबाट अष्ट्रेलिया र दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा तय गर्दा इङ्ग्ल्यान्ड र अफगानिस्तान समूह चरणबाट अगाडि बढ्न सकेनन्।