News Desk
इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोनले नेपालले एशियन कप, विश्वकप र अन्य विश्व फुटबलको ठूलो प्रतियोगितामा खेल्नसक्ने तर त्यसका लागि संरचनामा ठूलो लगानी गर्नुपर्ने बताएका छन्।
आइतवार काठमाडौँको हयात रिजेन्सी होटलमा आयोजित पत्रकार सम्मेलनमा बुफोनले विश्व फुटबलको ठूला प्रतियोगिता खेल्न नेपालले संरचना निर्माण र अन्य कुरामा लगानी गर्नुपर्ने बताए।
ठूलो लक्ष्य लिएर फुटबल खेल्न प्रोत्साहित गरे एकदिन पूरा हुने पनि उनको भनाइ छ। बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुन्। बुफोन आइतवार नेपाल आएका हुन्।
उनले आफू सानै छँदा पनि नेपालको झण्डा नयाँ र नौलो लाग्ने गरेको स्मरण गर्दै हिमालहरूको देश नेपाल आउने आफ्नो सपना पूरा भएको बताए।
नेपाल आउँदा निकै उत्साहित र खुशी रहेको उल्लेख गर्दै यो अवसरका लागि आयोजकलाई धन्यवाद पनि दिए। उनी केपी ओली कपको फाइनलका लागि नेपाल आएका हुन्।
उनले आजको दिन आफू र आफ्नो श्रीमतीका लागि अवस्मरणीय रहेको बताए। आफू सधैँ कामप्रति माया गर्ने र हरेक दिन आफ्नो उत्कृष्ट दिनका लागि कडा मेहनत गर्ने भएकाले फिटनेस राम्रो हुन सकेको अनुभव उनले सुनाए।
अहिले आफू केपी ओली कपको फाइनलका लागि आए पनि फेरि नेपाल आउने उनको चाहना छ। अर्को पटक धेरै समयका लागि नेपाल आउँदा बाहिर घुम्ने र यहाँका धार्मिकस्थलमा पनि जाने गोलकिपर बुफोनको योजना छ।