यसै वर्ष हुने साफ च्याम्पियनशिप जित्ने लक्ष्य रहेको प्रशिक्षक म्याट रसको भनाई
News Desk
Mar-04 , 2025 तारिख 12:45 बेलुका

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनशिप जित्ने लक्ष्य रहेको बताएका छन।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतवारदेखि लागू हुनेगरी अस्ट्रेलियाली प्रशिक्षक म्याट रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। 

एन्फाले सोमवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको पत्रकार सम्मेलनमा अस्ट्रेलियन प्रशिक्षक म्याटले यसै वर्ष हुने साफ च्याम्पियनशिप जित्ने लक्ष्य रहेको बताएका हुन। 

उनले एशियन कप क्वालिफायरमा राम्रो नतिजा दिलाउन प्रयास गर्ने आशा व्यक्त गरेका छन। नेपाली फुटबल टोलीमा क्षमतावान खेलाडी रहेको र महिला टोलीमा पनि क्षमतावान खेलाडी रहेको प्रशिक्षक म्याटको भनाइ छ। 

व्यक्तिगत रूपमा केही खेलाडीमा उत्कृष्ट क्लास रहेको उनले बताए। अनभुवी प्रशिक्षकले केही देशहरूलाई विश्व फुटबलमा उत्कृष्ट टिम दिएको स्मरण गर्दै उनले तीमध्ये एक आइसल्याण्ड रहेको उल्लेख गरे। 

फुटबल विकास गर्न तल्लो तहदेखि खेलाडी र प्रशिक्षकको प्रशिक्षक अगाडि बढाउनुपर्ने उनको धारणा छ। प्रशिक्षक म्याटले आफू नेपाली टोलीसँग काम गर्न उत्साहित रहेको उल्लेख गर्दै केही खेलाडीलाई केपी ओली कप र झापाको फुटबल प्रतियोगितामा हेरेको बताएका छन। 

ती खेलाडी र कोचिङ स्टाफसँग काम गर्न आफू उत्साहित रहेको पनि उनले उल्लेख गरे। उनीहरूसँग मिलेर सफलता प्राप्त गर्ने उनको भनाइ छ।

उनले सफलताका लागि धेरै चुनौती रहे पनि चुनौती लिन नै आफूलाई मनपर्ने र त्यसैले पनि प्रशिक्षक बनेको धारणा व्यक्त गरेका छन। 

उनले अस्ट्रेलियामा रहेर सेमि-प्रोफेसनल फुटबल खेलिरहेका खेलाडीका लागि सदैव ढोका खुला रहेको पनि बताए। अस्ट्रेलियन प्रशिक्षक म्याटले राम्रो टोली बनाउन राम्रा खेलाडीका लागि ढोका खुला रहेको उल्लेख गर्दै आफू दीर्घकालीन लक्ष्य लिएर आएको धारणा राखेका छन। 

उनले नेपाली यू–२० मा पनि उत्कृष्ट खेलाडी रहेको र उनीहरूलाई कुनै पनि हालत गुमाउन नचाहने पनि उल्लेख गरे। 

नेपालमा फुटबलप्रतिको क्रेज र जोश अविश्वसनीय रहेको र त्यो जोशलाई एक बनाएर नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने आफ्नो प्रमुख जिम्मेवारी हुने बताएका छन। 

म्यानमारसँग नेपाली महिला टोलीको खेल हेरेको र खेल मैदानको वातावरण धेरै उत्साहजनक रहेको उल्लेख गरे। उनले बलियो टोली निर्माण गर्दै आम मानिससम्म त्यसलाई जोड्न प्रयास गर्ने बताएका छन। 

आफूले विभिन्न देशको टोली र क्लब गरी करिब २० वर्ष फुटबल प्रशिक्षण गराएको पनि उनले उल्लेख गरेका छन। प्रशिक्षक म्याटले सफलता प्राप्त गर्न नेपाली टोलीमा राम्रो वातावरण सिर्जना गर्ने पनि विश्वास व्यक्त गरेका छन।

धेरै पढिएको