News Desk
नेपाली सेनाका खेलाडीले अन्तर्राष्ट्रिय खेलहरूमा १२ वटा स्वर्ण पदक, ११ वटा रजत पदक र २० वटा कांस्य पदक हासिल गर्न सफल भएका छन। सेनाले दिएको जानकारीअनुसार नेपाली सेनामा आबद्ध खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा गरी २६७ वटा स्वर्ण पदक हात पारेका हुन।
२०८०/८१ मा सेनामा आबद्ध खेलाडीले १९२ वटा रजत पदक र २५५ वटा कास्य पदक हासिल गर्न सफल भएको सेनाले जनाएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीले राष्ट्रको करिब ६० प्रतिशत खेलाडी उत्पादनको मुख्य थलोको रूपमा रहेको नेपाली सेनामा ३६ खेलका विधाका खेलाडीहरूलाई प्रशिक्षण दी विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आइरहेको बताए।
नेपाली सेनाका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन भएका खेल प्रतियोगिताहरूमा सहभागिता जनाई नेपाली सेना तथा समग्र राष्ट्रको गौरव बढाउन सफल भएको बताए।