News Desk
न्युजिल्यान्डले आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान बनाएको छ।
बुधबार राति लाहोरमा भएको खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ५० रनले पराजित गरी फाइनल यात्रा गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटमा ३६२ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिकाले ९ विकेटमा ३१२ रन मात्र बनाउन सक्यो। जितसँगै न्युजिल्यान्डले उपाधि भिडन्तका लागि भारतसँगको भेट पक्का गरेको छ। भारतले यसअघि अस्ट्रेलियालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो।
विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका लागि मध्यक्रमले राम्रो ब्याटिङ गर्न सकेन। टप अर्डरमा कप्तान तेम्बा बमुमा र रुसी भान डेर डुसेनले अर्धशतक बनाए भने तल्लोक्रमका डेभिड मिलरले पनि तुफानी शतक बनाए। उनले ६७ बलमा नटआउट १०० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन।
न्युजिल्यान्डका लागि कप्तान मिचेल सेन्टेनरले ३ विकेट लिए। त्यसअघि रचिन रविन्द्र र केन विलियम्सनको शतक तथा डेरियल मिचेल र ग्लेन फिलिप्सको उत्कृष्ट फिनिसिङमा न्युजिल्यान्डले ३६२ रनको विशाल स्कोर बनाएको थियो।
अब भारत र न्युजिल्यान्डले दुबईमा आइतबार फाइनल खेल्नेछन।
यसमूह ए मा रहेका यी दुवै टिमबीच समूह चरणमा पनि भेट भएको थियो। जसमा भारतले जित हात पारेको थियो।