News Desk
इलाम – इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल गोल्डकपमा दर्शकहरूको उपस्थिति उत्साहजनक मात्र होइन, थेगिनसक्नु नै बनेको छ। प्रतियोगिता हेर्न मैदान भरिभराउ मात्र छैन, दर्शकहरूको चर्को समर्थनले खेलाडीहरूलाई थप ऊर्जा प्रदान गरिरहेको छ।
विशेषगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरूप्रति दर्शकको अत्यधिक आकर्षण देखिएको छ। नेपाली राष्ट्रिय टिमकी मिडफिल्डर प्रिती राई मैदान प्रवेश गर्दा उनलाई फ्यानहरूको घेराबाट जोगाउन सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे परेको थियो। उनीमाथि फ्यानहरूले अत्यधिक माया दर्शाए, जसले खेलाडीको मनोबल उच्च बनेको छ।
खेलाडी मात्र होइन, फुटबलप्रेमी स्थानीय दर्शकहरू पनि असाधारण जोशका साथ प्रतियोगिता अवलोकन गर्न आएका छन। इलामको तुलसीपुर रंगशाला फुटबलप्रेमीहरूले खचाखच भरिएको छ, जसले आयोजकहरूलाई व्यवस्थापनमा चुनौती थपेको छ। सुरक्षा कर्मी र आयोजक टोलीले खेलाडीहरूलाई सुरक्षित राख्न र खेल व्यवस्थित रूपमा सञ्चालन गर्न निरन्तर प्रयास गरिरहेका छन।
नेपालसहित अन्य अन्तर्राष्ट्रिय टोलीका खेलाडीहरूलाई समेत दर्शकहरूले उत्तिकै समर्थन गरेका छन। प्रतियोगितामा भाग लिएका खेलाडीहरूले पनि दर्शकहरूको जोस देखेर खुशी व्यक्त गरेका छन। नेपाली महिला फुटबलको लोकप्रियता यस प्रतियोगिताले झनै बढाएको छ।
प्रतियोगिताका खेलहरू निकै प्रतिस्पर्धात्मक भइरहेका छन्, जसले खेलको रोचकता बढाएको छ। महिला फुटबलप्रति दर्शकहरूको यस्तो क्रेजले नेपालमा महिला खेलकुदको सम्भावना उज्ज्वल रहेको संकेत गरेको छ। यस प्रतियोगिताले नेपाली महिला फुटबललाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।