वुमन्स डे कपमा युगान्डामाथि नेपालले निकाल्यो एक विकेटको रोमान्चक जित
News Desk
Mar-09 , 2025 तारिख 07:07 बेलुका

नेपालले वुमन्स डे कपमा युगान्डामाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । ७६ रनको लक्ष्य पछ्याएको नेपाल लगातार विकेट गुमाउँदै एक समय हार नजिक पुगेको थियो । ईश्वरी विष्टले एक बल बाँकी रहदा तीन रन प्रहार गरेर नेपाललाई जित दिलाएकी हुन ।

एन्टेब्बे क्रिकेट ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । युगान्डाले २० ओभरमा सात विकेट गुमाएर ७५ रनको योगफल बनायो । युगान्डाका लागि इम्माकुलेट नाकिसुइले सर्वाधिक २२ रन जोडिन । स्टेफानी नाम्पिनाले १४ रन बनाएकी थीन । मालिसा आरियाकोटले ११ रन थपिन । 

बलिङतर्फ पूजा महतोले चार ओभरमा १४ रन दिएर तीन विकेट लीन । कप्तान इन्दु बर्माले दुइ विकेट हात पारिन । 

जवाफमा नेपालले १९ ओभर पाँच बलमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । ओपनर सम्झना खड्का ८ रनमा आउट भएकी थीन । सिनियर टिमबाट आज नै डेब्यु गरेकी सना प्रभिनले १७ रन जोडिन । इन्दु बर्मा ६ रनमा आउट हुँदा कविता जोशीले खाता खोल्न सकिनन । पूजा महतो १६ रनमा मैदान बाहिरीन । त्यसपछि युगान्डाले लगातार विकेट लिँदै नेपालमाथि दबाब बनाएको थियो । रुविना क्षेत्री १०, रोमा थापा १ र बिन्दु रावल तीन रनमा पभेलियन फर्किए । 

नेपाललाई अन्तिम ६ बलमा जितका लागि ६ रन आवश्यक थियो । ईश्वरीले पाँचौं बलमा तीन रन लिएपछि नेपाल विजयी भएको हो । जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि हिजो भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । युगान्डाको भने यो पहिलो हार हो । नेपालले अब आफ्नो तेस्रो खेलमा भोलि हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

धेरै पढिएको