News Desk
अन्तराष्ट्रिय महिला टी–२० श्रृंखलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपाल पराजित भएको छ। आज भएको आफ्नो तेस्रो खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको हो।
जितका लागि हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक रनको योगदान गरिन। पूजा महतोले १९ र बिन्दु रावलले १४ रन बनाए। साना प्रवीनले १० रन बनाउँदा सम्झना खड्काले १ रन जोडिन।
त्यसअघि युगान्डाको एन्टेबे क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १०० रन बनाएको थियो।
उसका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन। मारिको हिलले २१, क्यारी चानले १२ तथा यास्मिन दासवानीले नटआउट ११ रन जोडिन।
बलिङतर्फ इन्दु वर्मा र इश्वरी विष्टले २/२ विकेट लिए। पूजा महतो र रचनाकुमारी चौधरीले १/१ विकेट लिए।
पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा युगाण्डालाई पराजित गरेको थियो।
४ देश सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहने २ टोली उपाधिका लागि भिड्नेछन।
प्रतियोगिताअन्तर्गत आजै भएको पहिलो खेलमा आयोजक युगाण्डाले नामिबियाविरुद्ध १ रनको रोमाञ्चक विजय पाएको छ।