News Desk
महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले युगाण्डासँग लज्जास्पद हार बेहोरेको छ। नेपाली टोली १७ ओभर १ बलमा नै अल आउट हुँदै जम्मा ५१ रनमात्र बनाएर ४० रनले सजिलै पराजित भएको हो।
युगाण्डाले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ९१ रन बनाएर नेपाललाई खेल जित्न ९२ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङ गरेको नेपाली टोलीका खेलाडीहरु पहिलो ओभरदेखि नै ‘तिमी पवेलियन जाँदै गर‚ म पनि आइहाल्छु’ शैलीमा ब्याटिङ गर्दै लगातार आउट भएपछि नेपालले लज्जास्पद पराजय भोगेको हो।
आउट हुने क्रम नेपाली पारीको पहिलो ओभरबाटै शुरु भएको थियो। नेपालले पहिलो ओभरको दोस्रो बलमा ओपनर सम्झना खड्का पवेलियन फर्केकी थिइन्। उनी आउट हुँदा नेपालले २ बलमा १ रन बनाएको थियो।
सम्झना खड्का‚ रुबिना क्षेत्री‚ ममता चौधरी र इश्वरी विष्ट शून्यमा नै आउट भए। कप्तान इन्दु वर्माले ११ रन र कविता जोशीले १२ रन बनाउनुबाहेक अरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्।
अलिसा यादवले ९ रन र पूजा महतोले ७ रन बनाए भने रचना चौधरी शून्यमा अविजित रहिन्। आजको खेलमा पनि ३ जना नेपाली खेलाडी रन आउट भएका थिए।
युगाण्डाकी इमाकेलेट नाकीचुई र इरेनी मुन्टोनीले ३/३ विकेट तथा कोनी अवेको र जेनिति माबाजीले १/१ विकेट लिए।
यसअघि घरेलु टोली युगाण्डाकी कप्तान जेनेत माबाजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले फिल्डिङ गरेको थियो।
युगाण्डाका लागि दुवै ओपनरले कुनै पनि रन जोड्न सकेनन् र शून्यमा आउट भए। उसका लागि सर्वाधिक रन रिता मुसामालीले ३८ बनाइन्। एस्टर लोकूले २२ रन र स्टेफनी ले अविजित नाम्फिनाले १३ रन बनाइन्।
नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने पूजा महतो‚ इश्वरी विष्ट र रुबिना क्षेत्री बेलबासेले १/१ विकेट लिए। नेपालले ७ अतिरिक्त रन दिएको थियो।
युगाण्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आजसम्म खेलेका ५ खेलमध्ये नेपाल ४ खेलमा पराजित भएको छ। ४ टोली सम्मिलित प्रतियोगितामा नेपाल अंकतालिकाको पुछारमा रहेको छ।
यसअघिको पहिलो खेलमा युगाण्डा नेपालसँग एक विकेटले पराजित भएको थियो। नेपाल नामिबियासँगै दुवै खेल र हङकङसँग एक खेलमा पराजित भइसकेको छ।