News Desk
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले तयारी प्रभावकारी भएकाले हङकङको टी-२० श्रृंखलामा पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन।
नेपालले अप्रिल ९ देखि १३ सम्म हङकङमा टी-२० श्रृंखला खेल्दै छ। श्रृंखलामा नेपालसहित घरेलु टोली हङकङ‚ कतार र कुवेतले प्रतिष्पर्धा गर्नेछन।
सो श्रृंखलाका लागि सोमवार भएको बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान रोहितले राम्रो क्रिकेट खेल्ने बताएका हुन। सिद्धार्थ क्रिकेट मैदानमा राम्रो तयारी गरेको र त्यहाँ जुन उद्देश्यका साथ तयारी गर्न गएको त्यो पूरा पनि उनको भनाइ छ।
उनले पछिल्ला समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका केही खेलाडीले कमब्याक गरेको पनि उल्लेख गरे। तयारी राम्रो हुनु र टिम पनि सन्तुलित रहेकाले हङकङमा राम्रो क्रिकेट खेल्नेमा उनी विश्वस्त छन।
हाल नेपाली टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल छन। कप्तान रोहितले टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लको कप्तानीमा पनि खेलिसकेकाले उनीसँग नयाँ भूमिकामा रहेर खेल्न धेरै उत्साहित रहेको पनि बताएका छन।
टी-२० विश्वकपको एशियाली क्षेत्रको क्वालिफायर आगामी सेप्टेम्बरमा छ। त्यसका लागि चारदेशीय यो श्रृंखला राम्रो तयारी बन्ने कप्तान रोहितको विश्वास छ।
उनले टोलीको उद्देश्य नै आफ्नो उत्कृष्ट दिने र टिमलाई जित दिलाउनु हुने भएकाले सोहीअनुरूप हङकङमा खेल्ने बताएका छन।
उनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटपछि त्यति धेरै समय नभए पनि भर्खर प्रतियोगिता खेलेर आएकाले सहज भएको उल्लेख गरे। साथै पछिल्ला ५/६ दिनको क्याम्पमा प्रभावकारी तयारी गरेको विश्वास उनको छ।
यो क्याम्पबाट आफ्नो टोलीले चाहेजस्तो लक्ष्य प्राप्त गरेको उनले उल्लेख पनि गरेका छन। कप्तान रोहितले तयारी र योजना हङकङमा गएर कार्यान्वयन गर्नु नै महत्वपूर्ण पक्ष रहेको बताएका छन।
अब विश्व लिग–२ पनि आफूहरूको लागि महत्वपूर्ण रहेको र हरेक फर्म्याटमा एडजस्ट भएर खेल्ने कप्तान रोहितले बताएका छन।
समग्रमा सन २०२३ र ०२४ को नेपाली क्रिकेटमा राम्रो नतिजा आएको र यो वर्ष पनि त्यसलाई निरन्तरता पाउने आशा उनले व्यक्त गरे।
नेपाली टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले यो टिमसँग भिजेर काम गर्न सहज भएको र त्यहीअनुरूप तयारी पनि प्रभावकारी भएको बताएका छन।
उनले टी-२० क्वालिफायरका लागि अहिलेदेखि नै यसरी नै तयारी गरेर जाने हो भने लक्ष्य पूरा हुने आशा व्यक्त छन। देशबाट खेलेर सोही टोलीको प्रशिक्षण गर्न पाउनु आफ्नो लागि गर्वको क्षण रहेको प्रशिक्षक ज्ञानेन्द्रको भनाइ छ।
यो भूमिकामा आफू धेरै दबाबमा नरहेको उनी बताउँछन। उनले यसलाई ठूलो जिम्मेवारीको रूपमा लिएर अगाडि बढ्ने उल्लेख गरे।
सबै खेलाडी व्यावसायिक क्रिकेटमा राम्रो रहेकाले उनीहरूलाई सोहीअनुरूप मार्गनिर्देशन नै पर्याप्त हुने उनको बुझाइ छ। उनले नयाँ प्रशिक्षक स्टुअर्ट लले हालका लागि आफ्नो योजनाअनुरूप अगाडि बढ्न भनेको पनि उल्लेख गरेका छन।
सोमवार नै नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले नेपाली टोलीको बिदाइ गरेका छन।
नेपालले कतारसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ। दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्ने तय छ।
लिग चरणमा शीर्षमा रहने २ टोलीले फाइनल खेल्नेछन। तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन।