News Desk
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले राष्ट्रिय टोलीमा छिट्टै ठूलो परिवर्तन नआउने संकेत गरेका छन्।
हिजो मात्र नेपाल आएका स्टुअर्टले शनिबार बिहान मूलपानी क्रिकेट मैदानमा सञ्चारकर्मीहरू र खेलाडीहरूसँग भेटघाट गरे। साक्षात्कारका क्रममा उनले नेपालका युवा खेलाडीहरूको प्रतिभा, जोश र क्रिकेटप्रतिको समर्पण देखेर आफू अत्यन्त उत्साहित भएको बताएका छन्। यिनै प्रतिभाले आकर्षित भएर आफूले नेपाली टोलीको प्रशिक्षक पदका लागि आवेदन दिएको उनले बताए।
स्टुअर्टले टोलीमा व्यापक परिवर्तन गर्नुको सट्टा खेलाडीहरूलाई भूमिका स्पष्ट पार्नेतर्फ ध्यान दिनुपर्ने बताए। उनले आफ्नो मुख्य लक्ष्य नेपाललाई पुनः विश्वकपमा पु-याउने रहेको प्रस्ट पारे।
शनिबारदेखि नै उनले प्रशिक्षण क्याम्प सञ्चालनमा ल्याएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकप लिग–२ का लागि तयारीस्वरूप ५२ खेलाडी सम्मिलित कोर क्याम्प सुरु गरेको छ।
स्टुअर्टको प्रशिक्षणमा नेपाली टोलीले आगामी जुनमा स्कटल्याण्डमा हुने आईसीसी विश्वकप लिग–२ सिरिजको तयारी गर्दैछ।
क्यानले प्रशिक्षकका लागि प्राप्त ७० आवेदनमध्ये १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरी अन्ततः स्टुअर्टलाई रोजेको थियो। उनलाई चैत १६ गते दुई वर्षका लागि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको हो।
स्टुअर्टले अघिल्ला वर्षहरूमा श्रीलङ्का, बङ्गलादेश, वेस्ट इण्डिज, अफगानिस्तान, बङ्गलादेश यू–१९ र अमेरिकाको टोलीसँग प्रशिक्षकको अनुभव संकलन गरेका छन्। सन् १९९६ को आईसीसी विश्वकपमा उपविजेता बनेको अष्ट्रेलियन टोलीमा उनी प्रमुख खेलाडीका रूपमा थिए।