News Desk
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी साढे तीन वर्षपछि उपकप्तानको जिम्मेवारीमा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आइसिसी विश्वकप लिग–२ अन्तर्गतको स्कटल्यान्ड भ्रमणका लागि टिम घोषणा गर्दा ऐरीलाई उपकप्तान बनाइएको हो। टिमको नेतृत्व भने रोहित पौडेलले गर्ने छन्।
२०७८ मंसिर २९ गते, क्यानले अनुशासन उल्लंघनको आरोपमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो। त्यसपछि सन्दीप लामिछानेलाई टिमको कप्तान बनाइएको थियो।
तर सन्दीप यौन दुर्व्यवहारको मुद्दामा फसेपछि क्यानले २०७९ कात्तिक २५ गते उनलाई निलम्बन गर्दै रोहित पौडेललाई कप्तानीको जिम्मेवारी दिएको थियो।
ज्ञानेन्द्र र दीपेन्द्रमाथिको कारबाहीपछि क्यानले लामो समय उपकप्तान नियुक्त गरेको थिएन। झन्डै साढे तीन वर्षपछि नेपाली क्रिकेट टिमले उपकप्तानको पद पुनः पुनर्स्थापित गर्दै ऐरीलाई जिम्मेवारी सपेको हो।
यो पुनरागमनसँगै ऐरी फेरि राष्ट्रिय टिमको नेतृत्व तहमा फर्किएका छन्।