News Desk
हङकङ, जुन ५ | ३७ वर्षपछि आमने–सामने भएका नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल पुनः गोलरहित बराबरीमा टुंगिएको छ। हङकङ स्टेडियममा सम्पन्न खेलमा दुवै टोलीले गोल गर्ने मौका पाए पनि अन्ततः निर्णायक ‘ब्रेकथ्रु’ निकाल्न सकेनन।
सन १९८८ मा दशरथ रंगशालामा सम्पन्न एसियन कप छनोटको भिडन्त जस्तै, यो खेल पनि ०–० को बराबरीमा सकिएको हो।
खेलको सुरुआतमा नेपालले अपेक्षाकृत गतिशील प्रदर्शन गरे तापनि निर्णायक मुभ बनाउन असमर्थ रह्यो। उता घरेलु टोली हङकङले केही उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि नेपाली कप्तान किरण चेम्जोङको दृढ रक्षात्मक प्रयासले गोल हुन दिएन। विशेषगरी ४२ औं मिनेटमा सोरेस जुनियरको प्रहारलाई किरणले असफल पारेपछि पहिलो हाफ बिना गोल टुंगिएको थियो।
दोस्रो हाफमा पनि खेल चर्कँदै गयो। ७४ औं मिनेटमा फर्नान्डो पेड्रियराको दमदार फ्रिकिकलाई किरणले फेरि रोक्दै नेपाललाई गोल खानबाट जोगाए। अतिरिक्त समयमा भने नेपाल १० खेलाडीमा झर्यो, जब मणि लामाले दोस्रो पहेँलो कार्ड प्राप्त गरे।
यो मैत्रीपूर्ण खेल एएफसी एसियन कप २०२७ को छनोट तयारीअन्तर्गत आयोजना गरिएको हो। दुवै टोली समूह ‘एफ’ मा रहेको छ। नेपालले आगामी मंगलबार लाओससँग प्रतिस्पर्धा गर्नेछ भने हङकङले भारतको सामना गर्नेछ।