खेल​ जीव​न​मा क्रिस्टियानो रोनाल्डोको उत्तरार्ध र​ लमिन यमालको पूर्वार्ध​ र​ फाईन​ल​ भिड​न्त​
News Desk
Jun-07 , 2025 तारिख 11:45 बिहान

क्रिस्टियानो रोनाल्डो, एक नाम, जसले दुई दशकसम्म फुटबल संसारमा वर्चस्व कायम राखे । उनी आफ्नो करिअरको उत्तरार्धमा छन् । अर्कोतर्फ, लमिन यमाल, १७ वर्षको उमेरमै चम्किन थालेका स्पेनका आशालु युवा खेलाडी । अब युरोपेली फुटबलमा एक अद्भुत क्षण आउन लागेको छ l जब यी दुई फरक युगका प्रतीक खेलाडी एउटै मैदानमा आमनेसामने हुनेछन् ।

यही आइतबार, जर्मनीको बायर्न म्युनिकस्थित एलियान्ज एरेनामा, युएफा नेसन्स लिगको फाइनलमा स्पेन र पोर्चुगल भिड्दैछन् । यो प्रतियोगिताको उपाधिमात्र होइन, दुई पुस्ताबीचको ऐतिहासिक द्वन्द्व पनि हो ।

फुटबलको मैदानमा समयको चाल कहिले सपाट, कहिले अत्यन्तै नाटकीय हुन्छ । यस्तै एउटा लहर अहिले आउँदैछ, जसमा एक तर्फ छन् ३९ वर्षीय रोनाल्डो — दर्जनौं उपाधि जितिसकेका, विश्व फुटबलका महानतम खेलाडीमध्ये एक । अर्कोतर्फ, यमाल — जसको पाइलामा भर्खरै चमक देखिन थालेको छ, तर गति निकै तेज छ ।

रोनाल्डो र यमाल यसअघि कहिल्यै एउटै खेलमा प्रतिस्पर्धा गर्न पाएका थिएनन् । यमालले जब शीर्षस्तरको फुटबल खेल्न थाले, रोनाल्डो युरोपबाट पर सरेका थिए । यहाँसम्म कि युरो २०२४ मा पनि उनीहरू आमनेसामने हुन पाएनन्, किनभने पोर्चुगल क्वार्टरफाइनलमै फ्रान्ससँग हार्दै बाहिरिएको थियो ।

अब नेसन्स लिगको फाइनलमा भने, फुटबलप्रेमीहरूले त्यो दुर्लभ क्षण देख्न पाउनेछन् — जहाँ एक ऐतिहासिक नाम र अर्काे सम्भावनाशील नाम एउटै मैदानमा टक्कर दिनेछन् ।

सेमिफाइनलमा पोर्चुगलले जर्मनीलाई हराएको खेल रोमाञ्चक थियो । सुरुवातमा पछि परे पनि, फ्रान्सिस्को कोन्सेसेओको गोलले ६३ औं मिनेटमा बराबरी गरायो । त्यसपछि, ६८ औं मिनेटमा रोनाल्डोले आफ्नो जादुई क्षमताबाट गोल गर्दै जित दिलाए ।

स्पेन र फ्रान्सबीचको सेमिफाइनल पनि कम डरलाग्दो थिएन । यमालले दुई गोल गर्दै टोलीलाई ५-४ को नतिजामा जित दिलाए — एक पेनाल्टीमार्फत, अर्को ओपन प्लेमा । उनले खेलमै होनहार खेलाडीको परिचय दिए ।

यो फाइनल केवल उपाधिको दौड होइन, यो दुई युगबीचको संवाद पनि हो । फुटबलमा कहिलेकाहीँ यस्तो क्षण आउँछ, जुन केवल स्कोरले होइन, स्मृतिले मूल्यांकन गरिन्छ — यही हो त्यो क्षण ।

जब रोनाल्डो अन्तिम अन्तर्राष्ट्रिय उपाधिका लागि मैदानमा उत्रनेछन्, यमालले पहिलो ठुलो उपाधिका लागि कदम चाल्दै होलान् । इतिहास, अनुभव र भविष्यबीचको यो भिडन्तलाई विश्व फुटबलले लामो समय सम्झिनेछ।

धेरै पढिएको