News Desk
स्कटल्यान्ड |आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल आज आफ्नो तेस्रो खेलमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल डुन्डीको फोर्थहिल मैदानमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
सिरिजमा अहिलेसम्म अपराजित रहेको नेपाल आज पनि विजयी यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रनेछ। पहिलो खेलमै स्कटल्यान्डलाई १ विकेटले हराउँदै प्रतियोगिता सुरुवात गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि ५ विकेटको सहज जित निकालेको थियो।
यसअघिको हारको बदला लिन चाहने स्कटल्यान्डको टोली आज नेपालसँगको खेलमा आक्रामक रणनीतिमा रहने अपेक्षा गरिएको छ। स्कटल्यान्डले सिरिजमा अहिलेसम्म एक जित (नेदरल्यान्ड्सविरुद्ध ४४ रनले) र एक हार (नेपालसँग) व्यहोरेको छ।
नेदरल्यान्ड्स भने लगातार दुई हार व्यहोर्दै सिरिजमा अंकविहीन रहेको छ।
अंकतालिकामा हालसम्म नेपालले लिग-२ अन्तर्गत १४ खेलमध्ये ४ मा जित, ८ मा हार तथा २ मा बराबरी गर्दै १० अंक बनाएको छ र सातौँ स्थानमा छ।
स्कटल्यान्डले भने १८ खेलमध्ये १० मा जित, ६ मा हार र २ खेल बराबरी गर्दै २२ अंकसहित चौथो स्थानमा रहँदैछ।
आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण हुनेछ, नेपालले सिरिजको ह्याट्रिक जित खोजिरहेको छ भने स्कटल्यान्ड आफ्नो घरेलु मैदानमा पुनरागमनको प्रयासमा छ।