News Desk
पेरिस | स्पेनका कार्लोस अल्काराजले पुनः एकपटक फ्रेन्च ओपनको पुरुष एकल उपाधि जित्दै इतिहास रचेका छन्। २२ वर्षीय अल्काराजले विश्व नम्बर एक इटालियन स्टार यानिक सिनरलाई स्तब्ध पार्दै लगातार दोस्रोपटक रोल्यान्ड गारोसको उपाधि आफ्नो पोल्टामा पारेका हुन्।
राति सम्पन्न भएको यो फाइनल खेल ५ घण्टा २९ मिनेट सम्म चलेको थियो, जुन फ्रेन्च ओपनको इतिहासमै सबैभन्दा लामो फाइनल खेल बनेको छ।
सिनरले खेलको सुरुआतमा बलियो प्रदर्शन गर्दै पहिलो दुई सेट आफ्नो पक्षमा पारेका थिए – ४–६ र ६–७(४)। तर, अल्काराजले जबरजस्त पुनरागमन गर्दै बाँकी तीन सेट क्रमशः ६–४, ७–६(३) र ७–६(१०–२) मा जित्दै उपाधि सुनिश्चित गरे।
यो जितसँगै उनले १९८२ मा स्विडेनका म्याट्स विलान्डरले गुइलेर्मो विलासविरुद्ध राखेको कीर्तिमान तोडेका छन्।
यसैबीच, महिला एकलतर्फ अमेरिकी टेनिस खेलाडी कोको गौफले फ्रेन्च ओपन २०२५ को उपाधि जितेकी छन्। दोस्रो वरीयता प्राप्त गौफले फाइनलमा शीर्ष वरीयता प्राप्त बेलारुसकी आर्यना साबालेन्कालाई तीन सेटको कडा प्रतिस्पर्धामा पराजित गर्दै च्याम्पियन बन्न सफल भइन्।