सावित्रा भण्डारीले सम्हालिन् कप्तानीको जिम्मेवारी
News Desk
Jun-30 , 2025 तारिख 12:11 बेलुका

काठमाडौं | एएफसी महिला एसियन कप छनोट खेलका लागि नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तानी स्टार स्ट्राइकर सावित्रा भण्डारीले सम्हालेकी छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले लाओसविरुद्धको खेल सुरु हुनुअघि सावित्रालाई कप्तान घोषणा गरेको हो।

तर, खेल सुरु हुनु केही क्षण अघिसम्म सार्वजनिक गरिएको प्लेइङ-११ मा भने रेनुका नगरकोटीलाई कप्तानका रूपमा उल्लेख गरिएको थियो। मैदानमा प्रवेश गर्दा भने कप्तानको आर्मब्यान्ड सावित्राले लगाएकी थिइन्, जसले दर्शकहरूलाई केही क्षण अन्योलमा पारेको थियो।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरका अनुसार सावित्रा भण्डारीलाई यस सम्पूर्ण प्रतियोगिताका लागि कप्तानको जिम्मेवारी दिइएको हो। उनी नेपाली महिला फुटबल टिमको ११औं कप्तान बनेकी हुन्।

यसअघिसम्म टिमको कप्तानी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले गरिरहेकी थिइन्। तर, प्रशिक्षक प्याट्रिक डी वाइल्डले लाओसविरुद्धको खेलमा उनलाई बेञ्चमा राखेका थिए।

सावित्रा भण्डारी नेपाली फुटबलकी स्टार फरवार्ड हुन्। उनी राष्ट्रिय टिमबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बोकेकी खेलाडी पनि हुन्। उनले हालसम्म ५४ अन्तर्राष्ट्रिय खेलमा ५७ गोल गरिसकेकी छिन्। युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली महिला खेलाडीको रुपमा सावित्रा परिचित छिन्।

उनले सन् २०१४ मा भारतमा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध डेब्यु गरेकी थिइन्। संयोगवश, लाओसविरुद्धको खेल नेपाली महिला टिमको एक सयौं अन्तर्राष्ट्रिय खेल पनि हो।

नेपाली महिला टिमले सन् १९८६ मा अन्तर्राष्ट्रिय फुटबल यात्रा प्रारम्भ गरेको थियो। त्यो बेला रमा सिंह पहिलो कप्तान थिइन्। पछि कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, सजना राना मगर, रेनुका नगरकोटी, निरू थापा लगायतले कप्तानी सम्हालिसकेका छन्। सावित्रा त्यही सूचीमा थपिएको नयाँ नाम बनेकी छन्।

धेरै पढिएको