श्रीलंकामाथि नेपाल​को शानदार प्रदर्शन, साम्बाको ह्य​ट्रिक गोल​
News Desk
Jul-03 , 2025 तारिख 06:42 बिहान

नेपालले AFC महिला एसियाली कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा श्रीलंकामाथि शानदार प्रदर्शन गर्दै ८–० को भारी जित हात पारेको छ। ताशकेन्ट, उजबेकिस्तानमा सम्पन्न उक्त खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा) ले पहिलो हाफमै ह्याट्रिक गर्दै राष्ट्रिय टोलीका लागि आफ्नो व्यक्तिगत गोल संख्या ६० पुर्‍याएकी हुन्। सावित्राको प्रभावशाली प्रदर्शनसँगै नेपालले छनोट चरणमा लगातार दोस्रो उच्च स्कोरको जित दर्ता गर्दै समूहको शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ।

खेलको पहिलो हाफमै नेपालले लय समात्न सफल भयो। खेलको ७औँ मिनेटमा गीता रानाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसपछि सावित्रा भण्डारीले २०औँ, ४२औँ र पहिलो हाफको इन्ज्युरी समयमा तीन गोल गर्दै ह्याट्रिक पुरा गरिन्। सावित्राको तेज तर्रार खेल कौशल र गोल क्षमताले विपक्षी टोलीलाई दवावमा राख्न निर्णायक भूमिका खेलेको थियो।

दोस्रो हाफमा पनि नेपालले आक्रामक शैली कायम राख्यो। ५४औँ मिनेटमा गीता रानाले पेनाल्टीमार्फत दोस्रो व्यक्तिगत गोल गरिन्। त्यसपछि ६२औँ मिनेटमा निशा थापा मगरले, ७८औँ मिनेटमा रेखा पौडेलले हेडरमार्फत र अन्तिमतिर ८९औँ मिनेटमा पूजा रानाले गोल गर्दै कुल ८ गोलमा पुर्‍याइन्। यस जितसँगै नेपालले समूह चरणको पहिलो खेलमा लाओसविरुद्धको ९–० को जितपछि दुई खेलमा १७ गोल गर्दै उत्कृष्ट गोल अन्तर बनाएको छ।

कप्तान सावित्रा भण्डारीका लागि यो खेल थप ऐतिहासिक रह्यो। उनले २०१४ मा अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि अहिलेसम्म राष्ट्रिय टोलीका लागि ६० गोल पुरा गरेकी छन्। सावित्राले २०२५ मा मात्रै ७ खेलमा ६० गोलको उपलब्धि पार गर्नु, नेपाली महिला फुटबलको लागि गौरवको विषय बनेको छ।

अब नेपाल समूहको अन्तिम खेलमा आयोजक उजबेकिस्तानसँग भिड्नेछ। यस खेलको नतिजाले समूह विजेता निर्धारण गर्नेछ र विजेता टोलीले सिधै AFC महिला एसियाली कप २०२६ मा स्थान बनाउनेछ। यदि उज्बेकिस्तानले लाओसलाई पराजित गर्छ भने, नेपाल र उज्बेकिस्तानबीचको खेल ‘विनर टेक्स अल’ अर्थात् निर्णायक बन्नेछ।

सावित्रा भण्डारीको नेतृत्वमा नेपाली महिला टोलीले देखाएको लय र आत्मविश्वासले आगामी खेलमा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिन्छ। नेपालले महिला फुटबलमा एक नयाँ इतिहासको ढोका खोल्न सक्ने संकेत दिएको छ।

धेरै पढिएको