ओमानविरुद्ध आज निर्णायक भिडन्त: विश्वकप टिकटको किनारामा नेपाल
News Desk
Oct-15 , 2025 तारिख 12:17 बेलुका

ओमान | विश्व क्रिकेटको ध्यान अहिले ओमानमा केन्द्रित छ, जहाँ आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगिता जारी छ। यस प्रतियोगिताको केन्द्रमा नेपाली राष्ट्रिय क्रिकेट टोली रहेको छ, जसले लगातार रोमाञ्चक जितका साथ सुपर सिक्समा असाधारण पुनरागमन गरेको छ।

यूएई र कतारविरुद्धको खेलमा हारको मुखबाट फर्कँदै जित हात पारेपछि नेपाल अहिले अन्तर्राष्ट्रिय मञ्चमा पुनः चर्चा केन्द्रमा पुगेको छ। बलिङ र फिल्डिङमा नेपालको प्रदर्शन अद्भुत रहँदै आएको छ, यद्यपि ब्याटिङ विभाग अझै कमजोर पक्षका रूपमा देखिएको छ।

गत युनिटी कपमा वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक श्रृङ्खला जितेको नेपाल आत्मविश्वासका साथ ओमान पुगेको थियो। समूह चरणमा कुवेत र जापानलाई सहजै पराजित गरेपछि सुपर सिक्समा यूएई र कतारविरुद्धको जितले नेपालको साहसिक खेल भावना उजागर गरेको छ।

यूएईविरुद्धको 'एसोसिएट एल–क्लासिको'मा नेपालले १ रनको अविश्वसनीय जित निकालेको थियो। अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीको बलिङ र सन्दीप लामिछानेको रणनीतिक स्पेल निर्णायक रह्यो। गुल्सन झालाई ५ बलमा १४ रनको तीव्र इनिङ्स खेल्दै जितको आधार तयार गर्न सफल देखियो।

कतारविरुद्ध पनि नेपालले पुनः अद्भुत पुनरागमन गर्‍यो। कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको तेज पारीले नेपाललाई १ सय ४७ रनमा पुर्‍यायो। बलिङमा सन्दीप लामिछानेले जादुई प्रदर्शन गर्दै ५ विकेट लिँदै ५ रनले जित सुनिश्चित गरे। उनले १८ रनमा ५ विकेट लिएर अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर बन्ने ऐतिहासिक उपलब्धि हासिल गरे।

सुपर सिक्सका दुवै खेलमा बलिङ र फिल्डिङ नै नेपालको मेरुदण्ड बनेका छन्। प्रत्येक खेलाडीले टोलीका लागि सघन योगदान दिएका छन्। यद्यपि ब्याटिङमा अझ सुधार आवश्यक देखिन्छ — कुशल मल्ल, सन्दीप जोरा र मध्यक्रमको अस्थिर प्रदर्शन टिमका चुनौतीका रूपमा रहेका छन्।

अब नेपालले सुपर सिक्सको सबैभन्दा महत्वपूर्ण खेल आज ओमानविरुद्ध खेल्दैछ। उक्त खेल जिते विश्वकप २०२६ को टिकट नेपालले पक्का गर्नेछ। त्यसपछि सामोआमाथि जित निकाल्दै च्याम्पियनको हैसियतमा अन्त्य गर्ने लक्ष्य रहेको छ।

अब प्रश्न यही छ बलिङ र फिल्डिङमा जस्तै नेपाल आज ब्याटिङमा पनि चम्किन सक्ला? यदि नेपालले सन्तुलित खेल प्रदर्शन गर्न सफल भयो भने, विश्वकपको ढोका निश्चयै नेपालका लागि खुल्नेछ।

धेरै पढिएको