News Desk
नेपालले शानदार प्रदर्शन गर्दै टी-२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले पराजित गरेको छ। यस जितसँगै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ र उपाधि जित्ने सम्भावना अझ मजबुत बनाएको छ। अपराजित यात्रामा रहेको नेपालले यसअघि नै विश्वकपका लागि स्थान सुरक्षित गरिसकेको थियो।
मस्कटमा सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रनको प्रतिस्पर्धात्मक योगफल बनायो। ओपनर कुशल भुर्तेलको दमदार ब्याटिङ र अन्त्यतिर गुलशन झाको तिखो प्रदर्शनले नेपाललाई बलियो अवस्थामा पुर्यायो। कुशलले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ६९ रनको उत्कृष्ट पारी खेले, जुन खेलको टर्निङ पोइन्ट सावित भयो।
नेपालले पहिलो पावरप्लेमा नै ५२ रन जोड्दै बलियो सुरुवात गर्यो। कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे। आसिफ २४ रनमा आउट भएपछि नेपालले केही विकेट छिट्टै गुमायो—कप्तान रोहित पौडेल १ रनमा र दीपेन्द्र सिंह ऐरी २ रनमा नदिम खानकै बलमा पवेलियन फर्किए। नदिमले आफ्नो जादुई बलिङमा पहिलो चार विकेट लिँदै नेपाललाई दबाबमा राखे।
कुशल मल्लले आजको खेलमा खास प्रदर्शन गर्न सकेनन्, तर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरे। उनी यो कीर्तिमान बनाउने पाँचौं नेपाली खेलाडी बनेका छन्। अन्त्यतिर गुलशन झाको १० बलमा १८ रनले टोलीको रन गति बढायो।
१५२ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरहरूको आक्रमण सामु टिक्न सकेन। २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमै सिमित रह्यो। सुरुवाती ओभरमै ओमानले २७ रनभित्र तीन विकेट गुमाएको थियो। कप्तान जतिन्द्र सिंह १४ रनमा सोमपाल कामीको बलमा दीपेन्द्र ऐरीद्वारा क्याच आउट भए। त्यसपछि लगातार विकेट खस्दा ओमानको पारी धराशायी भयो।
गुलशन झा बलिङमा पनि चम्किए—४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले २–२ विकेट झारे भने सन्दीप लामिछानेले १ विकेट थपे। ओमानका ब्याटरहरूले साझेदारी बनाउन संघर्ष गर्दा नेपालले लगातार दबाब कायम राख्यो।
यो जितसँगै नेपालले लगातार चौथो जित हासिल गर्दै ८ अंकसहित तालिकाको शिखरमा पुगेको छ। दोस्रो स्थानमा ६ अंकका साथ ओमान झरेको छ। अब नेपालले अन्तिम खेलमा सामोआसँग भिड्नेछ। यस जितले नेपाललाई केवल विश्वकप सहभागी मात्र होइन, यो छनोट प्रतियोगिताको सम्भावित विजेता बन्ने प्रमुख दाबेदार बनाइदिएको छ।