News Desk
आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पाँचौं त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।
शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत युएईमा आयोजना हुने उक्त श्रृंखलाका लागि टोली सार्वजनिक गरेको हो। मुख्य प्रशिक्षक स्टुअर्ट लले यसपटक टोलीमा केही परिवर्तन गर्दै सन्दीप जोरा, लोकेश बम र मोहम्मद आदिल आलमलाई बाहिर राखी अनिल शाह, भीम सार्की र शाहब आलमलाई समावेश गरेका छन्।
श्रृंखला अक्टोबर २६ देखि सुरु हुनेछ र नोभेम्बर ६ सम्म चल्नेछ। नेपालले यस क्रममा घरेलु टोली युएई र अमेरिकाविरुद्ध दुई–दुई खेल खेल्ने तालिका रहेको क्यानले जनाएको छ।
लिग–२ को हालसम्मको अंकतालिकामा नेपालले १२ खेलबाट १६ अंक जोड्दै सातौँ स्थानमा रहेको छ। त्यस्तै, समान खेल खेलेको युएई ६ अंकसहित पुछारमा छ भने अमेरिका २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ।
लिग–२ मा सहभागी प्रत्येक टोलीले ९ श्रृंखलामा ३६ खेल खेल्नुपर्नेछ। शीर्ष चार स्थानमा पर्ने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट चरणमा प्रत्यक्ष प्रवेश पाउनेछ, जबकि अन्तिम चार टोलीलाई प्लेअफ खेल्नुपर्नेछ।
घोषित नेपाली टोली यस्तो छ:
कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अनिल शाह, शाहब आलम, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, नन्दन यादव, ललितनारायण राजवंशी, आरिफ शेख र सन्दीप लामिछाने।