News Desk
काठमाडौं, कात्तिक ३ | नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ सिक्सेज प्रतियोगिताका लागि सात सदस्यीय नेपाली टोली सार्वजनिक गरेको छ।
क्यानका अनुसार प्रतियोगिताबाट भेट्रान खेलाडी शरद भेषावकरले सन्यास लिन लागेको छ भने उनी नै नेपाली टोलीको कप्तानी गर्नेछन। भेषावकर लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका भए पनि टोलीको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन। उनले सन २०१४ मा टी–२० आई डेब्यु गरेका थिए र सन २०२२ यता राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलेका छैनन।
सिनियर खेलाडीमा सन्दीप जोरा र आदिल आलम पनि टोलीमा छन। त्यसैगरी लोकेश बम, बसिर अहमद, राशिद खान र रूपेश सिंह रहेका छन। युवा र अनुभवी खेलाडीको संयोजन भएको यो टोली सबैले २० ओभरको खेलमा राष्ट्रिय टोलीबाट अनुभव हासिल गरिसकेका छन।
हङकङ सिक्सेज प्रतियोगिता कात्तिक २१ देखि २३ गतेसम्म आयोजना हुने क्यानले जनाएको छ।
प्रतियोगिताबाट भेषावकरले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरको अन्त्य गर्ने तयारी गर्दैछन। उनले सन २०२१ मा ओमानविरुद्ध अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय (वनडे) खेल खेलेका थिए।