भारत र इरानसँगको खेल नेपाली टोलीका लागि परीक्षणको अवसर : कप्तान सावित्रा
News Desk
Oct-22 , 2025 तारिख 11:22 बिहान

महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले भारत र इरानसँगको त्रिकोणात्मक अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालका लागि आफ्नो क्षमता र सम्भावनाको परीक्षण गर्ने उत्कृष्ट मौका हुने बताएकी छन्। प्रतियोगितामा दुई नयाँ खेलाडीको आगमन र तीन पुराना खेलाडीको पुनरागमनसँगै नेपाली टोलीमा नयाँ रणनीति र संयोजनको प्रयोग गरिनेछ।

भारतको सिलोङमा आयोजना हुने यस प्रतियोगितामा नेपालले भारत र इरानसँग एक-एक खेल खेल्नेछ। राउन्ड रोबिन प्रणालीमा हुने खेलमा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो प्रतियोगितालाई नेपाली टिमका लागि नयाँ योजना परीक्षण गर्ने प्लेटफर्मको रूपमा लिएको छ।

इतिहास हेर्दा, नेपालले भारतसँग १३ पटक र इरानसँग एक पटक खेलिसकेको छ। यद्यपि भारतविरुद्धको समग्र रेकर्ड भारतको पक्षमा भए पनि पछिल्ला खेलहरूमा नेपालले सशक्त प्रदर्शन गर्दै केही जित पनि निकालिसकेको छ।

इरान र भारत दुबै एएफसी महिला एसियन कप छनोटमा पुगिसकेका टोली हुन्। नेपाल भने छनोटको अन्तिम चरणसम्म पुगे पनि छनोट हुन चुकेको थियो। यस्तै सन्दर्भमा, यी दुई टोलीले नेपालसँग खेल्दै आफनो तयारीलाई अझ निखार्ने लक्ष्य राखेका छन्। नेपाली टोली भने दबाबरहित तर आत्मविश्वासी ढंगमा मैदान उत्रने योजना बनाइरहेको छ।

नेपालले कात्तिक ७ गते इरानसँग र कात्तिक १० गते भारतसँग खेल्ने तालिका रहेको छ। त्यसपछि सिक्किममा नेपाल र भारतबीच एक मैत्रीपूर्ण खेल थप हुनेछ। उक्त खेल फिफा विन्डो बाहिर पर्ने भएकाले सावित्रा भण्डारी र प्रीति राई त्यो खेलमा सहभागी हुने छैनन्।

भारत प्रस्थान गर्नु अघि एन्फाले नेपाली टोलीलाई विदाई गरेको छ। संघले टोलीलाई शुभकामना दिँदै सफल खेल प्रदर्शनको अपेक्षा राखेको छ।

 

धेरै पढिएको