भारतले जितको केही हप्ता बितिसक्दा पनि अझै ट्रफी पाएन
News Desk
Oct-23 , 2025 तारिख 11:33 बिहान

भारतले २०२५ को एसिया कपमा विजेता बने पनि ट्रफी हात पार्न सकेको छैन। फाइनल जितेपछि भारतीय क्रिकेट टोलीले एसीसी (एसियाली क्रिकेट परिषद)का अध्यक्ष मोहसिन नक्वीबाट ट्रफी लिन अस्वीकार गरेको थियो। त्यसपछि नक्वी आफैं ट्रफी लिएर मैदानबाट बाहिरिएका थिए, र पछि उक्त ट्रफी एसीसीको कार्यालयमा राखिएको बताइन्छ।

भारतले जितको केही हप्ता बितिसक्दा पनि अझै ट्रफी प्राप्त गरेको छैन। यस घटनापछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले एसीसी अध्यक्ष नक्वीविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)मा औपचारिक उजुरी दर्ता गर्ने तयारी गरेको छ। आईसीसीको बोर्ड बैठक नोभेम्बर ४ देखि ७ तारिखसम्म दुबईमा तय भएको छ, जहाँ यो विषय मुख्य एजेन्डा बन्ने संकेत मिलेको छ।

बीसीसीआईका एक वरिष्ठ अधिकारीका अनुसार, “एसीसी प्रमुख मोहसिन नक्वी अझै आफ्नो अडानबाट पछि हटेका छैनन्। ट्रफी हस्तान्तरण सम्बन्धी उनको व्यवहार अस्वीकार्य छ, र हामी यसलाई आईसीसीस्तरमा उठाउनेछौं,” भनेर बताएका छन्।

बीसीसीआईले नक्वीलाई आधिकारिक इमेल पठाउँदै सकेसम्म शीघ्र ट्रफी भारतलाई हस्तान्तरण गर्न अनुरोध गरेको थियो। तर नक्वीको अडान र जिद्दीपनका कारण विषय झनै पेचिलो बनेको छ। अहिले ट्रफी एसीसी कार्यालयमै रहेको र भारतले अझै त्यसको स्वामित्व औपचारिक रूपमा पाउन बाँकी रहेको स्रोतहरूले जनाएका छन्।

धेरै पढिएको