टी–२० विश्वकपमा बंगलादेशको स्थान स्कटल्यान्डले लिने
News Desk
Jan-25 तारिख 07:06 बिहान

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपमा बंगलादेशको स्थान हटाएर स्कटल्यान्डलाई सहभागी गराउने निर्णय गरेको छ। भारतमा सुरक्षा चिन्ताको कारण देखाउँदै बंगलादेशले आफ्नो टोली पठाउन अस्वीकार गरेपछि आईसीसीले यो निर्णय लिएको हो।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन लागेको उक्त विश्वकपमा बंगलादेशका समूह चरणका सबै खेल भारतमै पर्ने तालिका तय गरिएको थियो। तर बंगलादेश सरकारले भारत भ्रमणका लागि अनुमति नदिएको भन्दै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले प्रतियोगितामा सहभागी नहुने स्पष्ट पारेको थियो। त्यसपछि आईसीसीले शुक्रबार साँझ बीसीबीलाई इमेलमार्फत आफ्नो निर्णय जानकारी गराएको बताइएको छ।

करिब तीन सातासम्म चलेको छलफलपछि आईसीसी बोर्डको आपतकालीन बैठक बसेर बहुमतका आधारमा बंगलादेशको सट्टा स्कटल्यान्डलाई समावेश गर्ने निर्णय गरिएको हो। आईसीसीका अनुसार प्रतियोगिता सुरु हुन अत्यन्तै कम समय बाँकी रहेकाले तालिका परिवर्तन गर्नु व्यवहारिक नदेखिएको निष्कर्ष निकालिएको थियो। साथै, भारतमा कुनै ठोस सुरक्षा खतरा नरहेको भन्दै कारणबिनै तालिका हेरफेर गर्दा भविष्यका प्रतियोगितामा गलत उदाहरण स्थापित हुन सक्ने चेतावनी पनि आईसीसीले दिएको छ।

यस निर्णयप्रति असन्तुष्टि जनाउँदै बीसीबीले यो विषय आईसीसीको विवाद समाधान कमिटीमा लैजाने संकेत गरेको छ। तर आईसीसी बोर्डले प्रतिस्थापनको निर्णय गरिसकेकाले त्यहाँबाट राहत पाउने सम्भावना न्यून रहेको बताइएको छ। बीसीबी अध्यक्ष अमिनुल इस्लामले भने आईसीसीले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्।

उनका अनुसार सन् २०२५ को च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गर्दा अपनाइएको नीतिसँग अहिलेको निर्णय मेल खाँदैन। जनवरी ३ मा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ का लागि रिलिज गर्न निर्देशन दिएको घटनापछि भारत–बंगलादेश सम्बन्ध थप चिसिएको पृष्ठभूमिमा बीसीबीले भारत भ्रमण असुरक्षित हुने भन्दै आईसीसीसँग पत्राचार गरेको थियो।

विश्वकपमा बंगलादेश समूह ‘सी’ मा रहेको थियो र उसका खेलहरू कोलकाता र मुम्बईमा तय भएका थिए। अब ती सबै खेल स्कटल्यान्डले खेल्नेछ। तालिकाअनुसार स्कटल्यान्डले फेब्रुअरी ७ मा वेस्ट इन्डिज र इटालीसँग, फेब्रुअरी १४ मा इंग्ल्यान्डसँग कोलकातामा तथा समूह चरणको अन्तिम खेल फेब्रुअरी १७ मा नेपालविरुद्ध मुम्बईमा खेल्नेछ।

धेरै पढिएको