अन्तिम खेलमा सम्मानको खोजी : नेपाल आज स्कटल्यान्डसँग भिड्दै
News Desk
Feb-17 तारिख 06:16 बिहान

काठमाडौं : आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल मुम्बईस्थित वानखेडे स्टेडियम मा नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ।

समूह ‘सी’ बाट सुपर ८ मा इंग्ल्यान्ड क्रिकेट टोली र वेस्ट इन्डिज क्रिकेट टोली अघि बढिसकेकाले यो खेल औपचारिकतामा सीमित बनेको छ। तर पनि दुवै टोली जितसहित प्रतियोगिता टुंग्याउने लक्ष्यमा छन्।

नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो हार व्यहोरेको थियो। त्यसपछि डेब्यु टोली इटालीसँग पराजित भयो भने वेस्ट इन्डिजसँग ९ विकेटले हार्न पुग्यो। लगातार हारका बाबजुद कप्तान रोहित पौडेल नेतृत्वको टोली अन्तिम खेलमा जित निकाल्दै सकारात्मक सन्देश दिन चाहन्छ। नेपाल १२ वर्षपछि विश्वकपमा पहिलो जित दर्ता गर्ने योजनामा छ।

स्कटल्यान्डले सुरुआती खेलमा वेस्ट इन्डिजसँग ३५ रनले हार बेहोरे पनि इटालीलाई ७३ रनले हराउँदै पुनरागमन गरेको थियो। तर पछिल्लो खेलमा इंग्ल्यान्डसँग पाँच विकेटले पराजित भएपछि उसको प्लेअफ सम्भावना समाप्त भयो।

टी–२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्डबीच हालसम्म दुई खेल भएका छन्, जसमा दुवैले एक–एक जित हात पारेका छन्, जसले आजको प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।

धेरै पढिएको