दक्षिण अफ्रिकाको जित, भारत ७६ रनले पराजित
News Desk
Feb-23 तारिख 05:38 बिहान

आईसिसी विश्व​कप​ क्रिकेट​ अन्तर्गत सुपर–८ चरणमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनको फराकिलो अन्तरले हराएको छ। अहमदाबादमा भएको खेलमा १८८ रनको लक्ष्य पछ्याएको भारत १८.५ ओभरमा १११ रनमै समेटियो।

भारतको सुरुआत निकै कमजोर रह्यो। ईशान किशन खाता नै नखोली आउट भए भने अभिषेक शर्मा १५ रनमा फर्किए। तिलक वर्मा १ रन र कप्तान सूर्यकुमार यादव १८ रनमै आउट हुँदा टोली दबाबमा पर्‍यो। वाशिङ्टन सुन्दरले ११ रन जोडे।

मध्यक्रममा शिवम दुबेले ३७ बलमा ४२ रन बनाएर केही संघर्ष गरे पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन्। हार्दिक पाण्ड्याले १८ रन बनाए। अन्य ब्याट्सम्यान रिंकु सिंह, अर्शदीप सिंह र जसप्रित बुमराह भने शून्यमै आउट भए।

दक्षिण अफ्रिकाका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। मार्को यान्सेनले ३.५ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। केशव महाराजले ३ विकेट लिए भने कोर्बिन बोशले २ विकेट झारे। लुंगी एनगिडी र कप्तान एडेन मार्करामले समान १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो। कप्तान एडेन मार्कराम ४ रन र क्विन्टन डी कक ६ रनमै आउट भए भने रायन रिकेल्टन ७ रनमा समेटिए।

त्यसपछि डेवाल्ड ब्रेविसले २९ बलमा ४५ रनको आक्रामक इनिङ्स खेले। डेभिड मिलरले ३५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रन बनाए। ट्रिस्टन स्टब्स २४ बलमा ४४ रन बनाउँदै अविजित रहे। अन्त्यतिर मार्को यान्सेनले २ रन र कोर्बिन बोशले ५ रन जोडे।

भारतका लागि जसप्रित बुमराहले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिए भने वरुण चक्रवर्ती र शिवम दुबेले समान १–१ विकेट लिए। यस जितसँगै दक्षिण अफ्रिकाले सुपर–८ चरणमा आफ्नो स्थिति थप मजबुत बनाएको छ।

धेरै पढिएको