स्पेन-पोल्यान्ड १-१ को बराबरी
News Desk
Jun-20 , 2021 तारिख 06:06 बिहान

 

आइतबार, असार ६, २०७८

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को दोस्रो खेलमा पनि स्पेन पोल्यान्डसँग बराबरीमा रोकिएको छ । पहिलो हाफमा अग्रता लिएपनि कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि स्पेन १-१ को बराबरीमा रोकिएको हो ।

खेलको २५ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता लिएको थियो । जेरार्ड मोरेनोले दायाँ विंगबाट दिएको लो क्रसलाई मोराटाले पहिलो टचमा नै गोल गरेका थिए । रेफ्रीले सुरुवातमा असिस्टेन्ट रेफ्रीको झन्डा उठेपछि अफसाइड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएका थिए ।

३४ औं मिनेटमा मोरेनोको प्रहार पोस्टभन्दा थोरैले बाहिरिएको थियो । त्यसको एक मिनेटपछि नै पोल्यान्ड खेल बराबरी गर्नबाट बन्चित भयो । क्यारोल स्विडेर्सकीले पेनाल्टी क्षेत्रको नजिकबाट गरेको प्रहार पोस्टमा लगेर फर्किएको थियो । पोस्टमा लागेर फर्किएको बललाई रोबर्ट लेवान्डोस्कीले गरेको प्रहार भने गोलरक्षक उनाइ सिमोनले बचाए ।

पहिलो हाफको अन्तिम मिनेटमा मोरेनोले अग्रता दोब्बर पार्ने अवसर चुकाए । जोर्डी अल्बाले बायाँ विंगबाट दिएको लो क्रसमा मोरेनोको प्रहारले पोस्टको बाहिरि नेटमा लागेको थियो । त्यसअघि सिमोनले लेवान्डोस्कीको प्रहार विफल पार्दै खेलमा स्पेनको अग्रता कायम राखेका थिए ।

दोस्रो हाफको ५४ औं मिनेटमा नै पोल्यान्डले खेल बराबरीमा ल्यायो । कामील जोज्वियाकले दायाँ विंगबाट दिएको क्रसलाई रोबर्ट लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । स्पेनका खेलाडीले लेवान्डोस्कीले हेडर प्रहार गर्नुअघि डिफेन्डर एमेरिक लापोर्टलाई फल गरेको भन्दै विरोध जनाएपनि भीएआरले गोललाई मान्यता दिएको थियो ।

खेल बराबर भएको ४ मिनेटपछि नै स्पेनले अग्रता पुन: स्थापना गर्ने सुवर्ण अवसर पायो । पेनाल्टी क्षेत्रभित्र याकुब मोल्डरले मोरेनोलाई लडाएपछि रेफ्रीले भीएआरको सहायता लिँदै स्पेनलाई पेनाल्टी दिएका थिए । मोरेनो आफैंले गरेको पेनाल्टी प्रहार पोस्टमा लागेर फर्किएको थियो । उक्त रिबाउन्डमा मोराटाको प्रहार बाहिरिंदा खेल बराबरीमा नै कायम रहयो ।

८४ औं मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले स्पेनलाई जित दिलाउन सकेनन् । मोराटाको प्रहारपछि पेनाल्टी क्षेत्रभित्र राम्रोसँग क्लियर हुन नसकेको बललाई टोरेसले पोस्टतर्फ प्रहार गर्न नसक्दा स्पेन अग्रता लिनबाट चुकेको थियो ।

यस बराबरीसँगै स्पेनले २ खेलमा २ अंक जोडेको छ । पोल्यान्ड भने पहिलो अंक जोड्दै समूहको पुछारमा रहेको छ । यस समूहमा स्वीडेनको ४ अंक छ भने स्लोभाकियाको ३ अंक रहेको छ । समूहको अन्तिम खेलमा स्पेन र स्लोभाकिया खेल्दा स्वीडेनले पोल्यान्डको सामना गर्नेछ ।

धेरै पढिएको