अवे गोलको नियम हटाइने
News Desk
Jun-25 , 2021 तारिख 07:18 बिहान

 

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले अर्को सिजनदेखि क्लब फुटबलको प्रतियोगितामा अवे गोलको नियम हटाउने भएको छ ।

यूईएफएको कार्यसमिति बैठकले अवे गोलको नियम हटाउन आएको प्रस्तावलाई स्वीकृति दिएको हो । सन् १९६५ देखि प्रयोगमा आएको यस नियमले च्याम्पियन्स लिग र युरोपा लिगको नकआउट चरणमा पटक पटक निर्णायक भूमिका खेल्दै आएको थियो । अब अवे गोलको नियम हटेसँगै खेल बराबरी भएको अवस्थामा अतिरिक्त समय र टाइब्रेकर लागु हुनेछ ।

यूईएफए अध्यक्ष एलेक्जेन्डर सेफेरिनले लामो सोचपछि निर्णय लिइएको जानकारी दिए । ‘ अवे गोलको नियम यूईएफए प्रतियोगिताको महत्त्वपूर्ण पाटो रहेका थिए । तर पछिल्लो समय हामीले यसबारे धेरै छलफल गर्यौं । यसमा सटिक निर्णय गर्न नसकेपनि सरोकारवाला पक्षसँग आवश्यक छलफलपछि नियम हटाउने निर्णयमा आएका हौं,’ उनले भने ।

पछिल्लो केहि सिजन च्याम्पियन्स लिगका खेलमा अवे गोलका कारण नै खेलको निर्णय हुँदै आएको छ । बायर्न म्युनिख र पिएसजीबीचको खेल ३-३ को बराबरीमा सकिएपनि साविक विजेता बायर्न अवे गोलको नियममा बाहिरिएको थियो ।

युभेन्टस पनि पोर्टोसँग ४-४ को बराबरीमा रहेपनि अवे गोलको आधारमा बाहिरिएको थियो । त्यसअघि सन् २०१८-१९ सिजनको सेमिफाइनलमा टोटेनहम हट्सपरले आयाक्स आम्स्टर्ड्याममाथि अवे गोलको मदतले नै फाइनलमा स्थान बनाएको थियो ।

धेरै पढिएको