टोकियो ओलम्पिक २०२० का लागि सोनियाले प्राप्त गरिन् वाइल्ड कार्ड
News Desk
Jun-26 , 2021 तारिख 06:08 बिहान

काठमाडौँ  नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छिन् । दुई खेलाडी इन्द्रबहादुर श्रेष्ठ र सोनियाको लागि पहल गरिएकोमा सोनियाले वाइल्ड कार्ड प्राप्त गरेकी हुन।.वाइल्ड कार्ड प्राप्त गरेकी सोनियाले ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने छिन् ।  यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्स अनिवार्य सहभागी हुने भएता पनि सुटिङ, तेक्वान्दो ९पारा० र जुडोले वाइल्ड कार्डमार्फत् सहभागिता जनाउने भएको हो ।


नेपाल पुलिसमा आवद्ध सोनिया हालै नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदकी कास्य पदक विजेता खेलाडी हुन् । सोनियाले सन् २०१९ मा बंगलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ ४४ केजीमा स्वर्णपदक प्राप्त गरेकी थिइन् । २०१९ मै मोरक्कोमा आयोजना भएको वर्ल्ड जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अंक बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाइल्ड कार्ड प्राप्त गर्न सफल भएकी हुन्।

सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौ खेलाडी भएकी छन् । यसअघि जुडोबाट १९८८ सिओल ओलम्पिकमा ऋषिराम प्रधान र गंगाबहादुर डङ्गोलले सहभागी भएका थिए । यस्तै, चीनको बेइजिङ ओलम्पिकमा देवु थापा र रियो ओलम्पिकमा फुपुल्हामु खत्रीले सहभागिता जनाएका थिए ।
 

धेरै पढिएको