फरक टिम, फरक उद्देश्य
News Desk
Nov-19 , 2021 तारिख 05:35 बिहान

काठमाडौँ — ३ मंसिर २०७८    

काठमाडौँ , नेपाली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदै छ । अवसर छ, सहिद स्मारक लिग ‘ए’ डिभिजन २०७८ । त्यसको पूर्वसन्ध्यामा हिमालयन शेर्पा क्लबबाहेक अन्य सहभागी टिमका प्रशिक्षक तथा कप्तान बिहीबार मिडियासामु प्रस्तुत भए । कुनै क्लबको उद्देश्य लिग जित्नु थियो भने कसैको रेलिगेसनबाट मात्र बच्ने । अनि केही क्लब भने यसअघिका संस्करणको तुलनामा राम्रो प्रदर्शनको अपेक्षा राखिरहेका थिए । यसपालि प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहनेछ । लिग सिंगल राउन्डका आधारमा चल्नेछ । यसपल्ट प्रतियोगिताको सबैभन्दा ठूलो विशेषता छ, दुई टिम रेलिगेसनमा पर्ने व्यवस्था । यसले प्रतियोगिता आफैं रोमाञ्चक भने हुनेछ । शुक्रबार पहिलो खेल ललितपुरका दुई क्लब फ्रेन्ड्स र सातदोबाटोबीच हुनेछ । पहिलो खेल दशरथ रंगशालाको फ्लडलाइटमा हुनेछ । लिग फुटबलको इतिहासमा फ्लडलाइटमा हुन लागेको यो पहिलो खेल हुनेछ । यस्तोमा के भन्छन् त १३ क्लबका प्रशिक्षकहरू ?

मृगेन्द्र मिश्र (फ्रेन्ड्स क्लब)

हाम्रो उद्देश्य रणनीतिअनुसार खेल्ने हुनेछ । हामीले अहिले नै यस्तै स्थान प्राप्त गर्नेछौं भनेर कुनै सोच बनाएका छैनौं । हामी सबैभन्दा पहिले रेलिगेसनबाट बच्ने उद्देश्यले खेल्न चाहन्छौं । सुरुआती केही चरणका नतिजापछि मात्र हामी क्लबको उद्देश्य यही हुनेछ भनेर भन्न सक्छौं । त्यसपछि मात्रै हाम्रो स्थिति के हुनेछ, त्यो पनि प्रस्ट हुनेछ । हामीले आफ्नो रणनीतिअनुसार खेल्ने हो भने टिमको प्रदर्शन राम्रो हुने अपेक्षा राखेका छौं ।

किशोर केसी (जावलाखेल युथ)

हामी चाहन्छौं, टिमले लिगमा चौथो स्थानका लागि खेलोस् । टिमको प्रदर्शन राम्रो हुने हो भने हामी अझै राम्रो स्थितिमा पुग्न सक्छौं । यो नै हाम्रो लक्ष्य छ, सकेसम्म अगाडि बढ्ने । हामीसँग भारतीय सँगै राम्रा विदेशी खेलाडी छन् । अहिलेसम्म टिमको तयारी राम्रो छ र हामी यसमा सन्तुष्ट छौं । प्राविधिक रूपमा टिम बलियो रहेको छ, त्यसै पनि हाम्रा खेलाडीले राम्रो खेल्ने छन् भन्ने विश्वास छ । यो सबै अर्थमा हामी खुसी छौं ।

अनन्त थापा (पुलिस क्लब)

पुलिसको तयारी जहिले पनि राम्रो हुन्छ, किनभने हामी विभागीय टिम हौं । हामीसँग मैदान छ र हामी १२ महिना नै अभ्यास तथा प्रशिक्षण गर्छौं । लिगका लागि भनेर नै हामीले तीन चार महिनादेखि प्रशिक्षण सुरु गरेका छौं । निश्चित रूपमा हाम्रो उद्देश्य लिग उपाधि जित्नु नै हुनेछ । टिम नयाँ छ र हाम्रा अधिकांश खेलाडी युवा छन् । हाम्रो उद्देश्य राम्रो खेलेर राम्रो नतिजा निकाल्ने नै हो । मलाई विश्वास छ, अहिलेको पुलिस टिम सरप्राइज नतिजा निकाल्न सक्षम छ ।

राजु तामाङ (त्रिभुवन आर्मी)

हाम्रो टिमको तयारी पनि राम्रो छ । हाम्रो उद्देश्य यसपल्ट लिग उपाधि जित्ने नै हुनेछ । लिगको ठीकअगाडि चोटका कारण हामीले नवयुग श्रेष्ठलाई गुमाएका छौं । यसले पक्कै टिमको आक्रमण प्रभावित हुनेछ । तर हाम्रो विश्वास छ, नवयुगको स्थानमा जसले मौका पाउने छ, उसले राम्रो गर्न सक्नेछ । यो अन्य खेलाडीका लागि अवसर हो । हामीसँग राम्रा खेलाडी उत्तिकै छन् । अधिकांश खेलाडी लयमै छन् ।

राजुकाजी शाक्य (एनआरटी)

हाम्रो उद्देश्य लिग तालिकाको शीर्ष चारमा रहने हो । त्यसैले हामीले राम्रो तयारी गरेका छौं । हाम्रो समस्या भनेको मैदानको हो । कमसल मैदानका कारण खेलाडीलाई समस्या हुने गर्छ । यसका बावजुत पनि टिमको प्रशिक्षण राम्रो भएको छ । तर खेलाडीलाई ठीक भूमिका दिन र रणनीतिअनुसार खेलाउन गाह्रो छ । हामी सबैले सक्दो राम्रो नतिजाका लागि प्रयास गर्नेछौं । हाम्रो अग्रपंक्तिका दुई विदेशी खेलाडी उत्कृष्ट छन् । उनीहरूमाथि हाम्रो विश्वास छ ।

कुमार थापा (एपीएफ क्लब)

हामीले यसपल्ट राम्रो तयारी गरेका छौं । हाम्रो उद्देश्य मिड–टेबल हो, शीर्ष चारदेखि आठसम्म । हाम्रा खेलाडी अनुभवी पनि छन् । यसअघिका लिगमा हाम्रो प्रदर्शन राम्रो रहने सकेको छैन । त्यसैले हामी त्यसमा सुधार चाहन्छौं र यसपल्ट राम्रो होस् भन्ने चाहन्छौं । त्यस अर्थमा हामीले धेरै ठूलो लक्ष्य राखेका छैनौं । यसपल्ट सबैभन्दा ठूलो हामीले आफ्नो खेल्ने शैलीमा परिवर्तन गर्ने प्रयास गरेका छौं । टिम आफैंमा धेरै परिवर्तन भने हुने छैन ।

मेघराज केसी (सातदोबाटो युवा)

क्लबले पहिलोपल्ट माथिल्लो डिभिजनमा खेलिरहेको छ । त्यसैले व्यवस्थापनका लागि यो पहिलो अनुभव हुनेछ । तर टिमका प्रशिक्षकदेखि खेलाडीका लागि भने यो माथिल्लो डिभिजनको पहिलो अनुभव होइन । त्यसैले हामी त्यसै अनुसार खेल्नेछौं र सबैलाई देखाउन प्रयास गर्नेछौं । हाम्रो क्लब पहिलोपल्ट ‘ए’ डिभिजन खेलिरहेको छैन । चार महिनादेखि हाम्रो तयारी चलिरहेको छ । क्लब आफैं उत्साहित छ । हामी सबै राम्रो नतिजाको अपेक्षा गर्छौं ।

प्रवेश कटुवाल (मछिन्द्र क्लब)

हामी डिफेन्डिङ च्याम्पियन हौं । त्यसैले सबैले हाम्रो प्रदर्शन राम्रो हुने अपेक्षा गरेका छन् । हामी बलियो छौं भनिरहेका छन् । पक्कै पनि यो स्वाभाविक छ । मछिन्द्रले पछिल्लो समय लिग उपाधि जितेको हुनाले हामीमाथि स्वाभाविक ढंगले चर्को दबाब छ । हामीले उपाधि जोगाउन पूरा प्रयास गर्नेछौं । हामीले त्यसकै लागि टिमको अग्रपंक्ति बलियो बनाउने प्रयास गरेका छौं । यसका लागि धेरै खेलाडी अनुबन्ध गरेका छौं ।

विष्णु गुरुङ (संकटा क्लब)

हाम्रो तयारी समग्रमा तयारी राम्रो छ । त्यसैले प्रदर्शन राम्रो हुने अपेक्षा गर्न सकिन्छ । लक्ष्य यही हो भन्ने छैन । यसको निर्णय प्रतियोगिता अगाडि बढेपछि तय हुनेछ । प्रत्येक खेलको नतिजाले हाम्रो लक्ष्य फेरिने छ । सुरुआती खेलमा आउने नतिजापछि हामीले त्यसैअनुसार रणनीति तयार गर्नेछौं । टिममा खेलाडी खेलाडीबीच सञ्चार राम्रो छ, त्यसैले टिमको प्रदर्शन राम्रो हुने आधार छ । हामी लिगमा टिमको राम्रो स्थान अपेक्षा गर्छौं ।

बालगोपाल साहुखल (च्यासल युवा)

हाम्रो टिमको सबैभन्दा ठूलो विशेषता भन्नु नै यो युवा छ । यसका खेलाडी युवा छन् । खेलाडी धेरै नयाँ नै छन् । त्यही कारण हामी सबै उत्साही छौं । खासमा हामी मजुबत टिम बनाउने बाटोमा छौं । हामी कम्तीमा पनि लिग तालिकाको टप हाफमा हुनेछौं, हाम्रो उद्देश्य यही छ । हामी त्यसभन्दा पनि माथि पुग्न सक्छौं । टिमले राम्रा खेल्ने विश्वास छ, तर हामीले निकै ठूलो उद्देश्य राखेका छैनौं । लिग कसरी अगाडि बढ्ने छ, सबै त्यसमा भरपर्छ ।

सनोज श्रेष्ठ (ब्रिगेड ब्वाइज)

यसअघिका लिगमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को जस्तो प्रदर्शन रह्यो, हामी त्यसमा सुधार चाहन्छौं । हाम्रो लक्ष्य पहिलेको तुलनामा राम्रो प्रदर्शन गर्ने नै हो । सबै खेलाडी सक्दो राम्रो नतिजाका लागि प्रयारत छन् । हाम्रो उद्देश्य ठूलो र यही भन्ने छैन । खेलाडी धेरै नयाँ छन्, तर राम्रो खेल्न सक्षम छन् । हामी चाहन्छौं, टिमले राम्रो खेलोस् र राम्रो नतिजा निकालोस् । त्यो भनेको पहिलो तुलनामा अझ राम्रो प्रदर्शन नै हो ।

राजेन्द्र तामाङ (मनाङ मर्स्याङ्दी)

म यसअघि मनाङ मर्स्याङ्दीमा खेलाडी थिएँ, अहिले प्रशिक्षक भएर फर्केको छु । हामीले कात्तिक सुरुदेखि प्रशिक्षण कार्यक्रम सुरु गरेका थियौं । तयारी ठीकै छ, बीचमा दसैंतिहार जस्ता चाड परेपछि गाह्रो भएको थियो । तर हाम्रो टिम बलियो छ, त्योभन्दा ठूलो यो अनुभवी छ । हाम्रो उद्देश्य पक्कै लिग उपाधि जित्ने नै हो । त्यसैले हाम्रो प्रदर्शन त्यसैअनुसार हुनेछ । हामी कीर्तिमान नवौंपल्ट लिग उपाधि जित्न चाहन्छौं ।

उर्जेन श्रेष्ठ (थ्रीस्टार क्लब)

अब त लिग सुरु हुने समय आएको छ । त्यस अगाडि हामीले राम्रो तयारी गरेका छौं । थ्रीस्टार क्लब भएपछि यसले खेल्ने भनेको लिग उपाधिकै लागि हो । हामी यसका लागि पूर्णतः समक्ष छौं । तर मलाई लाग्छ, यसपल्ट लिगमा जति टिम छन्, सबै बराबरका छन् । त्यसैले उपाधिका लागि चर्को प्रतिस्पर्धा हुनेछ । जति–जति प्रतियोगिता अगाडि बढ्दै जानेछ, को कस्तो छ, त्यो थाहा हुनेछ । हामीले साढे एक महिनाको प्रशिक्षण गरेका छौं, त्यसमा खुसी छौं ।              

( कान्तिपुर दैनिक )

धेरै पढिएको