चेल्सीको मजबुत अग्रता
News Desk
Nov-21 , 2021 तारिख 06:43 बिहान

लन्डन — ५ मंसिर २०७८   

लन्डन , इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले लेस्टरलाई उसकै मैदानमा पराजित गरी आफ्नो पकड कायम राखेको छ । किङ पावर रंगशालामा लेस्टरविरुद्ध एन्टोनियो रुडिगरले आफ्नो गोल स्कोरिङ लयलाई कायम राख्दा चेल्सीले सुरुमै अग्रता बनायो । लेस्टरकै पूर्वखेलाडी बेन चिलवालको कर्नरमा रुडिगरले हेडमार्फत गोल गरेका थिए । लेस्टरका अर्का पूर्वखेलाडी एनगोलो कान्टेले गोल गरेपछि पहिलो हाफ चेल्सीले २–० को अग्रता लियो । पहिलो हाफको अन्त्यतिर चेल्सीले अग्रता बढाउने अवसर पनि पाएको थियो । तर चिलवेलको प्रहार बारमा लागेर फर्कियो । अर्को वान भर्सेस वान अवसरमा कास्पर स्माइकलले गोल हुन दिएनन् । दोस्रो हाफपछि लेस्टरले आफ्नो आक्रामक रणनीतिलाई थप सशक्त पार्ने प्रयास गरेको थियो । ड्यानिएल अमार्टीको लङ रेन्ज प्रहार तथा जेरेमी भर्डीको क्लोज रेन्ज हेडर चेल्सी गोलरक्षक एडुवार्ड मेन्डीले बचाए । चेल्सीको थप तीन गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड करार गरेका थिए । हड्सड ओडोई, रिस जेम्स र क्रिस्टियन पुलिसिचको गोल अफसाइड भएको हो । पुलिसिचले नै तेस्रो गोल गरेका थिए । यो जितपछि चेल्सीको १२ खेलबाट २९ अंक भएको छ ।

बायर्न स्तब्ध

एजेन्सी– जर्मन बुन्डेसलिगामा शीर्षस्थानको बायर्न म्युनिखले रेलिगेसन जोनमा संघर्षरत अग्सवर्गसँग २–१ गोलअन्तरको हार व्यहोरेको छ । यो जितपछि अग्सवर्ग रेलिगेसन प्लेअफको स्थानमा उक्लिएको छ । १८ टोली रहने बुन्डेसलिगामा पुछारका तीन टोली रेलिगेसनमा पर्छन् । १५ औं स्थानमा रहनेले प्लेअफ खेल्नुपर्छ । बायर्नले पूर्ण नियन्त्रणमा राखेको खेलमा अग्सवर्ग महत्त्वपूर्ण तीन अंक खोस्न सफल रह्यो । पहिलो हाफमै म्याड्स पिडर्सनले २३ र आन्द्रे हानले ३५ औं मिनेटमा गोल गरेपछि अग्सवर्गले घरेलु मैदानमा दोहोरो अग्रता लिएको थियो । ३८ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि बायर्नले त्यसयता गोल थप्न सकेन । यो नतिजाले बुन्डेसलिगामा बायर्नको चार खेलको जित यात्रामा पूर्णविराम लागेको छ । ‘अग्सवर्ग जितको हकदार थियो,’ बायर्न प्रशिक्षक जुलियन नेगेल्सम्यानले भने, ‘बायर्नको प्रशिक्षकको हैसियतमा म पहिलोपल्ट निकै निराश भएको छु ।’

‘हामीले पहिलो हाफमा धेरै स्थान दियौं । पोजिसनमा गल्ती गरिरह्यौं । हामीलाई मिडफिल्डमा संख्यात्मक फाइदा थियो । त्यसलाई पनि सदुपयोग गर्न सकेनौं । समग्रमा यो खेलमा हामीले जे गर्न सक्थ्यौं, त्यो गरेनौं,’ उनले भने । यो खेल स्टार स्ट्राइकर थोमस मुलरको बायर्नका लागि ६०० औं खेल थियो । तर कोभिड–१९ को क्वारेन्टाइन नियमका कारण जोसुवा किमिचसहित तीन मुख्य खेलाडी अनुपस्थित थिए । बायर्नलाई यसको प्रभाव परेको थियो । लिगको १२ खेलमा दोस्रो हार व्यहोरेको बायर्न २८ अंकसहित शीर्षस्थानमा यथावत् छ । बायर्न पराजित भएपछि दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई अंक छोट्याउने अवसर रहनेछ ।

( कान्तिपुर दैनिक )