News Desk
दिपु वर्णवाल
वीरगंज - वीरगंजको लिंक रोडस्थित न्यु नारायणी इन्टरप्राइजेजद्वारा संचालित काजारीया टायल्स तथा पेरीवेर सेनिटरी शोरुमको भव्य उद्घाटन एक विशेष समारोहबीच सम्पन्न भएको छ। आइतबार आयोजित उक्त कार्यक्रमको उद्घाटन शस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी राधेश्याम धिमालले प्रमुख अतिथिका रूपमा गर्नुभएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी गौतम मिश्र विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, कार्यक्रममा स्थानीय उद्योगपति, व्यापारी, राजनीतिककर्मी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एसपी धिमालले वीरगंजजस्तो आर्थिक केन्द्रमा यस्ता स्तरीय शोरुमहरूको स्थापना हुनु सकारात्मक संकेत भएको बताउनुभयो। उहाँले यसले स्थानीय रोजगारी सिर्जनासँगै शहरी सौन्दर्य र पूर्वाधार विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उद्यमीको लगानी र प्रतिबद्धता
न्यु नारायणी इन्टरप्राइजेजका सञ्चालक तथा युवा उद्यमी राज सर्राफले सो अवसरमा बोल्दै आफूहरूले विगत एक दशकदेखि वीरगंजमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो।
“सुरुवात सानो परिमाणमा गर्यौं, तर ग्राहकहरूको साथ र विश्वासले आज यो आधुनिक र स्तरीय शोरुम स्थापना गर्न सफल भएका छौं,” सर्राफले भन्नुभयो।
उनका अनुसार करिब २००० वर्ग फिट क्षेत्रफलमा फैलिएको सो शोरुम आफ्नै भवनमा सञ्चालनमा ल्याइएको हो। यहाँ काजारीया ब्रान्डका प्रिमियम टायल्स तथा पेरीवेर ब्रान्डका उच्च गुणस्तरीय सेनिटरी सामग्रीहरू उपलब्ध छन्।
शोरुममा भान्सा, बाथरुम, लिभिङ रुमदेखि व्यवसायिक प्रयोजनसम्मका लागि १०० भन्दा बढी डिजाइनका टायल्स उपलब्ध छन्। मध्यम वर्गदेखि उच्च वर्गसम्मका ग्राहकलाई ध्यानमा राखी बजेटअनुसारका विभिन्न विकल्पहरू पनि समावेश गरिएको सर्राफले जानकारी दिनुभयो।
**भविष्यका योजना र प्रविधिको प्रयोग**
उद्घाटन समारोहमा सर्राफले आफ्ना ग्राहकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा झनै स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले डिजिटल सेवा विस्तार, छुट योजना तथा नयाँ अफरहरू ल्याउने योजना रहेको पनि जानकारी गराउनुभयो।
समारोहमा प्रमुख अतिथिहरूद्वारा रिबन काटेर शोरुमको उद्घाटन गरिएको थियो। त्यसपछि उपस्थित पाहुनाहरूले शोरुमको अवलोकन गरेका थिए।
तीव्र गतिमा विस्तार भइरहेको वीरगंज शहरमा यस्तो स्तरीय टायल्स र सेनिटरी शोरुमको स्थापना निर्माणसम्बन्धी सेवामा उल्लेखनीय राहत पुग्ने विश्वास गरिएको छ।
