नवोदित कलेजलाई अर्को सफलता : सविन सुवेदी बने बीबीएस प्रथम वर्षका नेपाल टपर
News Desk
Nov-20 तारिख 04:02 बेलुका

काठमाडौँ, ४ मंसिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत बीबीएस प्रथम वर्षको परीक्षामा नवोदित कलेजका विद्यार्थी सविन सुवेदीले देशभरमै उत्कृष्ट नतिजा हाँसिल गरेका छन् । 

विगत दुई दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको काठमाडौँको सामाखुशीस्थित नवोदित कलेजमा अध्ययनरत छात्र सुवेदीले बिबिएस प्रथम वर्षमा ८५.६ प्रतिशत अंक प्राप्त गर्दै नेपाल टपर बन्न सफल भएका हुन् ।

सुवेदीले शैक्षिक सत्र २०८२÷२०८३ को परीक्षामा सहभागी  भई उत्कृष्ट अंकसहित देशकै सर्वोत्कृष्ट विद्यार्थीको रुपमा आफूलाई प्रस्तुत गरेका हुन् । यसअघि विस २०७३÷०७६ व्याचका छात्र राजु भण्डारीले नेपाल टप गर्दै आफ्नो र कलेजको नाम लेख्न सफल भएका थिए ।

सुवेदीको उक्त सफलताले व्यक्तिगत मेहनत, लगनशीलता र निरन्तर अध्ययनको प्रतिफललाई उजागर गरेको छ  । सुवेदीको उत्कृष्ट उपलब्धिले नवोदित कलेजको शैक्षिक पहिचानलाई थप उचाइ दिएको कलेजका प्राचार्य राजेन्द्र अधिकारीले जानकारी दिए । 

नेपाल टपर भएका सुवेदीको सफलताप्रति कलेजले खुसी व्यक्त गर्दै बधाई तथा आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ । विद्यार्थीको मेहनत र संस्थाको शैक्षिक वातावरणको उत्कृष्ट उदाहरण बनेको सुवेदीको यो उपलब्धि अन्य विद्यार्थीका लागि पनि प्रेरणाको स्रोत बनेको कलेजका सहप्राचार्य जीवी अधिकारीले बताए ।