अर्थमन्त्री पौडेलको निर्देशन : ‘अन्य मन्त्रालयका फाइल रोकिनुहुन्न, समन्वय गरेर अघि बढ्नुस्’
News Desk
Jun-12 , 2025 तारिख 12:29 बेलुका

काठमाडौं    |उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयका कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन्।

मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा मन्त्री पौडेलले अन्य मन्त्रालयबाट आएका फाइलहरू कुनै पनि हालतमा रोकिन नहुने स्पष्ट गराउँदै ती फाइलहरूको तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिए।

"अन्तरमन्त्रालय समन्वयलाई अझ सशक्त बनाउन जरुरी छ," मन्त्री पौडेलले भने, "बजेट कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनलगायत आवश्यक तयारी तुरुन्त थाल्नुपर्छ।"

बैठकमा उनले प्राथमिकता निर्धारण गरेर काम अघि बढाउन र आवश्यक कानुनी संशोधनका लागि गृहकार्य सुरु गर्न पनि आग्रह गरे। साथै, बजेट कार्यान्वयनमा पूर्वतयारी अहिलेको मुख्य जिम्मेवारी भएको उनले उल्लेख गरे।

सो अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले पनि आ–आफ्ना विभागीय प्रमुखहरूलाई कार्यक्षमता वृद्धि गर्न, राजस्व संकलन सुधार्न र पुँजीगत खर्च बढाउन विशेष ध्यान दिन निर्देशन दिए।

बैठकमा अर्थ मन्त्रालयको आन्तरिक समन्वय सुधार र कार्यगत प्रगति बढाउनुपर्ने विषयमा समेत छलफल भएको थियो।

 

धेरै पढिएको