यस वर्षको 'स्पेशल रिकग्निशन फर पब्लिक इन्टरप्राइज २०२५' अवार्ड साल्ट ट्रेडिङ कर्पोरेशनलाई प्रदान
News Desk
Jun-28 , 2025 तारिख 01:37 बिहान

काठमाडौं । यस वर्षको 'स्पेशल रिकग्निशन फर पब्लिक इन्टरप्राइज २०२५' अवार्ड साल्ट ट्रेडिङ कर्पोरेशनले प्राप्त गरेको छ। राजधानी काठमाडौंमा आयोजित नवौं संस्करणको 'न्युबिज कन्क्लेभ तथा बिजनेस एक्सिलेन्स अवार्ड, २०२५' कार्यक्रमको अवसरमा न्यू बिजनेस एजले उक्त सम्मान प्रदान गरेको हो। कर्पोरेशनकातर्फबाट सहायक सि ई ओ ब्रजेश कुमार झाले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो ।

छ दशकभन्दा लामो समयदेखि नेपाली बजारमा सहज र सुपथ मूल्यमा खाद्य पदार्थ तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउँदै आएको साल्ट ट्रेडिङ कर्पोरेशन नेपालमा सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा स्थापना भएको पहिलो संस्था हो। यसले मुलुकको आपूर्ति प्रणाली सुदृढ गर्न उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।

साल्ट ट्रेडिङले विशेष गरी नूनजस्तो अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्दै सार्वजनिक संस्थानहरूको इतिहासमा उदाहरणीय योगदान दिएको छ। संस्थाको शेयर संरचनामा सरकारको वाणिज्य विभागको ११.५९ प्रतिशत र तत्कालीन नेशनल ट्रेडिङ कर्पोरेशन लिमिटेडको ९ प्रतिशत हिस्सा रहेको छ।

आयोडिनयुक्त नूनलाई देशभर सहज रूपमा उपलब्ध गराउने र प्रत्येक वर्ष दोहोरिने अभाव तथा कालोबजारीको समस्या समाधान गर्ने उद्देश्यले पीपीपी मोडल अन्तर्गत साल्ट ट्रेडिङको स्थापना गरिएको थियो। यसको पूर्वसन्ध्यामा सरकारले निश्चित मात्रा र क्षेत्रमा विभिन्न व्यक्तिलाई नून आयात गर्न स्वीकृति दिएको पाइन्छ।

साल्ट ट्रेडिङको स्थापनापछि पनि निजी क्षेत्रलाई नून आयात र विक्री गर्न दिने प्रयास गरिए तापनि सरकारले पछि निजी कम्पनीलाई आयात अनुमति नदिने नीति लिएको थियो। सोही नीतिविरुद्ध एक नून उद्योगले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा २०६१ सालमा अदालतले खारेज गरिदिएको थियो।

स्थापनाको उद्देश्य केवल नूनको आपूर्तिमा सीमित नराखी कर्पोरेशनले व्यापारको विविधीकरणतर्फ उन्मुख हुँदै अन्य धेरै वस्तुहरूमा समेत लगानी विस्तार गरेको छ। त्यसै अन्तर्गत नेपालमै पहिलोपटक खाद्य उद्योग लिमिटेड नामक मैदा मिल स्थापना गरियो। साथै वनस्पति घिउ उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिल, नेशनल फाइनान्स लिमिटेड, सगरमाथा इन्स्योरेन्स, मेट्रो ग्यास उद्योग, उपहार हाउजिङ, हिमालय प्याकेजिङ उद्योगलगायतमा पनि कर्पोरेशनले लगानी विस्तार गरेको छ।

त्यस्तै, मालगहुँ क्षेत्रको बीउ उत्पादनदेखि लिएर सरकारको अनुदानमा रासायनिक मलको खरीदबिक्री, सहुलियत मूल्यमा चिनी, दाल, गेडागुडी लगायत अत्यावश्यक वस्तुको व्यापारमा समेत साल्ट ट्रेडिङ सक्रिय रूपमा संलग्न छ। यद्यपि, वनस्पति घिउ, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानाजस्ता केही उद्योग हाल बन्द अवस्थामा छन्। तर, मेट्रो ग्यास, उपहार हाउजिङ, हिमालय प्याकेजिङ, चिनी, नून, रासायनिक मल तथा खाद्यान्नको सहुलियत आपूर्तिमा भने कम्पनीले उल्लेखनीय सफलता हासिल गरेको छ।

हेटौंडामा रहेको खाद्य उद्योग लिमिटेडले विसं २०३० देखि नै मैदा उत्पादनको थालनी गरेको थियो। नेपालमै उत्पादित कृषिजन्य वस्तुमा आधारित उद्योग विस्तार गर्ने सोचअनुरुप स्थापना गरिएको यो कारखानाको उद्देश्य नेपाली गहुँलाई बजारमा प्रवद्र्धन गर्दै प्रशोधन गरेर मैदा, आटा, सुजी र चोकर उत्पादन गरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिने रहेको छ।

 

धेरै पढिएको