News Desk
काठमाडौं | रासायनिक मल अभावको समस्या अन्त्य गर्दै किसानलाई समयमै मल उपलब्ध गराउने विषयमा प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिले सरकारलाई स्पष्ट निर्देशन दिएको छ। राष्ट्रिय उपभोक्ता मञ्चले मिति २०८१ साउन २८ गते समिति समक्ष पेश गरेको निवेदनका आधारमा आइतबार सिंहदरबारमा बसेको बैठकले यो महत्वपूर्ण निर्णय गरेको हो।
समितिका सभापति अब्दुल खानको अध्यक्षतामा सम्पन्न बैठकले देशभर मल अभाव नहोस् भनी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई तत्काल उचित प्रबन्ध गर्न निर्देशन दिएको छ। बैठकले विशेष गरी प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा रासायनिक मल वितरण प्रक्रिया सुनिश्चित गर्नुपर्ने बताएको छ।
स्थानीय तहमै रासायनिक मलको भण्डारण स्थल निर्माण गर्नुपर्नेमा जोड दिँदै समितिले मलको सहज र सुलभ उपलब्धता सुनिश्चित गर्न यो रणनीतिक कदम आवश्यक रहेको उल्लेख गरेको छ। साथै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा गरिने मल आयातको कोटा वृद्धि गर्न पनि समितिले निर्देशन दिएको छ।
सभापति खानका अनुसार, मुलुकभर रासायनिक मल आयात तथा वितरणमा संलग्न संस्थाहरूको कार्यक्षमता, आयात र वितरणको हालको अवस्था विश्लेषण गरेर मल कोटाको पुनरावलोकन गरी आवश्यक प्रतिशत निर्धारण गर्न उद्योग तथा कृषि मन्त्रालयलाई समेत निर्देशन दिइएको छ।
बैठकमा सहभागी कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानलाई समयमा मल नपुगेमा उत्पादनमा गम्भीर असर पर्ने भन्दै, आवश्यक मल किसानले आवश्यक समयमै पाउने वातावरण बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए।
न्यायका लागि लड्दै आएका सर्वसाधारण किसानहरूको आवाज अन्ततः सुनीएकोमा समिति सभापति, सांसद तथा कृषि मन्त्रीप्रति आभार व्यक्त गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले यो निर्णयलाई सकारात्मक र दूरगामी कदमका रूपमा स्वागत गरेको छ।