नेपालमै अपार सम्भावना छन्, देशमै अवसर खोज्नुस् : अध्यक्ष चन्द्रप्रसाद ढकाल
News Desk
Jul-13 , 2025 तारिख 11:59 बिहान

काठमाडौं, असार २९ | नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई देशमै रहेर अध्ययन र व्यवसायिक सम्भावनाको खोजी गर्न आग्रह गरेका छन्।

आज राजधानीमा आयोजित राष्ट्रिय युवा महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालभित्रैको अपार सम्भावनालाई चिनेर त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए।

“नेपालमा व्यावसायिक क्षेत्रका असीमित सम्भावना छन्। म आफैँ वैदेशिक रोजगारीका क्रममा जापानमा काम गरिसकेको व्यक्ति हुँ। त्यस अनुभवले पनि देखाउँछ— नेपालका हरेक क्षेत्रमा केही गर्न सकिने सम्भावना प्रशस्त छन्,” उनले भने।

उनका अनुसार सरकारले अघि सार्ने योजनाहरू र समाजका आवश्यकता पूरा हुने किसिमका कार्यहरूमा लगानी गर्न सके छिट्टै सफल हुन सकिन्छ।

ढकालले नेपाली शिक्षाको गुणस्तरमा सुधार आएको उल्लेख गर्दै विदेश पढ्न जानु अनिवार्य नभएको बताए। “नेपालमै राम्रो कलेज र विश्वविद्यालयहरू छन्, जसबाट अध्ययन गरेर पनि उज्ज्वल भविष्य निर्माण सम्भव छ,” उनले भने।

व्यक्तिगत अनुभव साझा गर्दै अध्यक्ष ढकालले भने, “म सानै उमेरमा अभिभावक गुमाएको व्यक्ति हुँ। बाल्यकालदेखि नै व्यवसाय गर्ने सोच थियो। महत्वाकांक्षा भन्दा पनि इमान्दारिता र निरन्तरता भए सफलता टाढा हुँदैन भन्ने मेरो अनुभव हो।”

उनले युवालाई नेपालमै बसेर सम्भावना र अवसरको खोजी गर्न, नयाँ सोच र इमान्दारिताका साथ काममा लाग्न सुझाव दिए। उनले विश्वास व्यक्त गरे कि यदि यस्ता प्रयास गरिए भने नेपालमै समृद्ध भविष्य निर्माण गर्न सकिनेछ।

धेरै पढिएको