News Desk
काठमाडौं | सरकारले देशभरका श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रावण १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक १९ हजार ५५० रूपैयाँ निर्धारण गरेको हो।
यसअघि १७ हजार ३ सय रूपैयाँ रहेको न्यूनतम पारिश्रमिकमा करिब २ हजार २ सय ५० रूपैयाँको वृद्धि भएको हो। मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ को उपदफा १ बमोजिम ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’को सिफारिसअनुसार यो निर्णय गरेको जनाएको छ।
मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार, निर्णयमा पुग्नु अघि रोजगारदाता संगठन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका प्रतिनिधिहरुसँग विस्तृत छलफल, सुझाव तथा विश्लेषण गरिएको थियो।
| श्रेणी | आधारभूत पारिश्रमिक (रु.) | महँगी भत्ता (रु.) | जम्मा (रु.) |
|---|---|---|---|
| मासिक | १२,१७० | ७,३८० | १९,५५० |
| दैनिक | ४७० | २८४ | ७५४ |
| प्रति घण्टा | ६३ | ३८ | १०१ |
आंशिक समयमात्र काम गर्ने श्रमिकका लागि प्रति घण्टा न्यूनतम पारिश्रमिक १०७ रूपैयाँ तोकिएको छ।
चिया उद्योगमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा सरोकारवाला निकायहरूसँग छुट्टै छलफल गरी सिफारिस गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।