News Desk
काठमाडौं, साउन १८ |आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल सुरु गरेको छ। आइतबारको पहिलो चरणको छलफल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्पन्न भएको हो।
छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने उद्देश्यले ‘भगत सर्वजित उद्यमशिलता विकास कार्यक्रम’ अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण, सीपमूलक तालिम, र उत्पादित वस्तुहरूलाई बजारसँग जोड्ने रणनीतिबारे गहन चर्चा गरिएको थियो।
त्यसैगरी, काठमाडौं उपत्यकामा रहेका उद्योगलाई उपत्यका बाहिरको औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगहरूलाई विशेष सहुलियत दिने प्रस्तावबारे पनि छलफल भएको छ।
छलफलमा भारत, चीनलगायत अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने किसिमको गुणस्तरीय प्रयोगशाला स्थापना गर्ने, झापा, मकवानपुरको मयुरधाप र चितवनको शक्तिखोरमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजनाबारे पनि विमर्श भएको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, उद्योग सचिव डा. रामप्रसाद घिमिरेलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
आर्थिक वर्ष २०८२/८३ को बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय र सम्बन्धित विभागहरूसँग चरणबद्ध रूपमा छलफल जारी राख्ने जनाएको छ।