News Desk
काठमाडौं | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यदि सोलार र ब्याट्री प्रविधिले देशको विद्युत आवश्यकता धान्न सक्ने अवस्थामा पुग्यो भने, महँगो जलविद्युत आयोजना निर्माण गर्नु आवश्यक नपर्न सक्ने स्पष्ट पारेका छन्।
शाक्यका अनुसार, दिन र रात दुबै समयमा सोलार र ब्याट्री प्रविधिले माग अनुसार बिजुली आपूर्ति गर्न सके, जलविद्युत् अनिवार्य रहने अवस्था हट्न सक्छ। “विशेषगरी साँझ र बिहानको माग सोलार ब्याट्रीले धान्न सके, ठूला जलविद्युत परियोजनाको आवश्यकता घट्न सक्छ,” उनले बताए।
उद्योगहरूको वर्तमान विद्युत खपत पनि न्यून रहेको उल्लेख गर्दै शाक्यले भविष्यमा ऊर्जा व्यवस्थापनमा सोलार र ब्याट्रीले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सिचाइका क्षेत्रमा समेत सोलार प्रविधिको प्रयोग बढाउनुपर्ने बताए। "जहाँ सिचाइको सुविधा छ, त्यहाँ चोरीको समस्या देखिएको छ। सोलार पम्प र मिटरको प्रयोगले यो समस्या कम गर्न सकिन्छ, जुन छिमेकी भारतको अनुभवले पनि पुष्टि गर्छ," उनले भने।
तराईदेखि पहाडसम्म सिचाइमा सोलार प्रविधि जोड्नु आवश्यक रहेको भन्दै शाक्यले देशभरका पालिकाहरूलाई पनि ऊर्जा आत्मनिर्भर बनाउने दिशामा जान आह्वान गरे।
उनका अनुसार, विद्युत प्राधिकरणले सडक बत्ती जडान गरिदिए पनि धेरै स्थानीय तहहरूले वर्षौंसम्म बक्यौता नतिर्ने गरेका छन्। “नगरपालिकाहरूले बजेटमा यस्ता बक्यौताका लागि व्यवस्था नगरेका छन्,” उनले गुनासो गरे।
शाक्यले पालिकाहरूले सोलार बत्ती जडान गरी आफै बिजुली उत्पादन गर्न सक्ने र त्यस बिजुलीलाई प्राधिकरणले खरिद गर्न सक्ने प्रस्ताव पनि अघि सारे।
उनले प्रसारण लाइन नजिकका जमिनमा सोलार लगाउने र प्रशारण भित्रका भूभागको सदुपयोग गर्ने योजना प्राधिकरणले अघि सारेको जानकारी दिए। पाइलट परियोजनाको रूपमा खिम्तीमा यो योजना सुरू भइसकेको उनले बताए।