News Desk
काठमाडौं | हाल बजारमा रासायनिक मलको अभाव रहेको खबर सार्वजनिक भइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आयात गरेको ठूलो मात्रामा मल नेपाल भित्रिएको छ। कर्पोरेशनले हालै भारतको कोलकाता बन्दरगाह हुँदै ४,४०,००० बोरा युरिया मल र १०,८३ ,००० बोरा डी.ए.पी. मलसहित १५,२३,००० बोरा रासायनिक मल नेपाल भित्र्याएको जनाएको छ।
उक्त मल अहिले नेपालका विभिन्न गोदाममा पुगिसकेको छ र प्रदेश सरकारमार्फत पालिकाहरूसम्म वितरणको प्रक्रिया सुरु भएको कर्पोरेशनले जनाएको छ।
कर्पोरेशनका अनुसार, मल बिक्रीका लागि दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका र कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटा अनुसार मल बिक्री वितरण गर्न अनुरोध गरिएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार यस कदमले किसानहरूलाई आवश्यक मल सहज रूपमा उपलब्ध गराउन मद्दत पुग्ने छ।